मणि थापाको ब्रिफिङ : ‘हामी ओलीमा बिलय भइसक्यौं, बार्गेनिङ गर्दिनँ’

Mani Thapa-3
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं। पूर्वमाओवादी खेमाबाट ओली समूहमा गएका नेताहरुले प्रधानमन्त्री ओलीसँग एकपछि अर्काे बार्गेनिङ गरिरहेका बेला नेता मणि थापा भने फरक धारमा देखिएका छन्। ओली समूहमा पदीय जिम्मेवारीको चरम विवाद देखिएको बेला खानेपानीमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य थापा ओलीको पक्षमा देखिएका हुन्।

प्रधानमन्त्री ओलीले पूर्वमाओवादी समूहका नेताहरुलाई उचित जिम्मेवारी नदिएको भन्दै गृहमन्त्री रामबहादुर थापा लगायतका नेताहरु ओलीसँग असन्तुष्ट छन्। थापाले आफ्नो समूहलाई उचित जिम्मेवारी नदिएको भन्दै ओलीसँग निर्णायक सम्बन्ध बिच्छेद गर्ने चेतावनी दिइसकेका छन्। प्रधानमन्त्री ओलीले पनि गृहमन्त्री थापालाई पदबाट राजीनामा दिइसकेको चर्चा चलिरहेको छ। यद्यपि, राजीनामाको निर्देशनको स्वतन्त्र पुष्टि भइसकेको छैन।

ओली समूहको विवादमा गृहमन्त्री थापाले पूर्वमाओवादी नेताहरुलाई एक ठाउँमा उभ्याउने प्रयासमा छन्। तर, खानेपानीमन्त्री थापाले भने आफूले ओलीको साथ नछोड्ने बताउने गरेका छन्। थापानिकट एक सदस्यले दिएको जानकारीअनुसार उनी बार्गेनिङ नगर्ने र ओलीको विश्वास जित्ने मनस्थितिमा छन्।

ती सदस्यले भने, ‘‘हामीसँगको कुराकानीमा दाइले यो पार्टी एकता होइन, हामी ओलीमा गएका हौं भन्नुभएको छ। सम्भवतः पूर्वमाओवादी एक ठाउँमा आउँदा पनि उहाँ प्रधानमन्त्रीसँगै रहनुहुन्छ।’’

पूर्वमाओवादीबाट ओली समूहमा गएका नेतामध्ये मणि थापासँग खास कार्यकर्ता छैनन्। मन्त्री भएको सुरुको दिनमा स्वकीय सचिवसमेत को राख्ने भन्ने अन्यौलमा रहेका थापालाई ओली समूहको कर्णाली प्रदेश इञ्चार्ज बनाइएपछि भने केही कार्यकर्ता उनीसँग नजिकिन खोजेका छन्। त्यसयता कर्णाली प्रदेशबाट ओली समूहतिर लागेका पूर्वमाओवादी कार्यकर्ताहरु उनको अघिपछि देखिन थालेका हुन्।

संसद विघटनपूर्व थापा नेकपाको स्थायी समिति सदस्य थिए। तर, सांसदसमेत नरहेका थापालाई ओलीले आफूतिर लागेका कारण खानेपानीमन्त्रीमा नियुक्त गरेका थिए। सांसद नै नभएको मान्छे मन्त्री हुन पाएपछि त्यही नै उनका लागि सबैभन्दा ठूलो सन्तुष्टि हुनसक्ने भएकाले उनी ओलीको पक्षमा दृढतापूर्वक उभिएको हुनसक्ने आंकलन गरिएको छ।

गृहमन्त्री रामबहादुर थापाले भने पूर्वमाओवादी नेताहरुलाई आफूमा केन्द्रित गर्ने प्रयास थालेका छन्। त्यसका लागि उनले उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, श्रममन्त्री गौरीशंकर चौधरी, युवा तथा खेलकूदमन्त्री दावा तामाङ, खानेपानीमन्त्री मणिचन्द्र थापा लगायतका नेताहरुसँग कुराकानी गरिरहेका छन्।

गृहमन्त्री थापासँग युवा तथा खेलकूदमन्त्री तामाङ मात्र देखिएका छन्। केन्द्रीय समितिबाट थापाको पक्षमा मन्त्री तामाङका साथै लुम्बिनी प्रदेशका नेता एमएस थापा देखिएका छन्। त्यसबाहेक थापाको पक्षमा पूराना केन्द्रीय सदस्यहरु छैनन्। गृहमन्त्री थापाले पूर्वमाओवादी नेताहरुलाई एक ठाउँमा ल्याउँदा ओलीसँगको बार्गेनिङ पावर बढ्ने भएकाले लबिङ थालेका हुन्।

पार्टीमा उचित जिम्मेवारी नदिएको, केन्द्रीय समिति बिस्तारमा आफूहरुलाई उपेक्षा गरेको, युवा संघको पदाधिकारीमा आफ्नो समूहलाई पेलिएको, भूमि व्यवस्था समाधान आयोगमा उचित भागबण्डा नदिएकोजस्ता कारण थापा प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुष्ट छन्। तर, पूर्वमाओवादीका नेताहरु गृहमन्त्रीमा केन्द्रीत हुनुभन्दा पनि ओलीकै विश्वास जित्न प्रतिस्पर्धा गरिरहेका छन्।

उर्जामन्त्री टोपबहादुर रायमाझी पूर्वमाओवादीमा डा. बाबुराम भट्टराईनिकट नेता मानिन्थे। गृहमन्त्री थापासँग उनको राम्रो सम्बन्ध नभएका कारण अहिले पनि उनी थापाकै प्रतिस्पर्धी देखिएका छन्। ओली बादल प्रचण्ड–नेपाल समूहमा गएपछि गृहमन्त्री दिने वचन दिएको र बादल ओली समूहमै रहेका कारण गृहमन्त्रीको जिम्मेवारी नपाएका कारण पनि रायमाझी थापासँग सकारात्मक हुन सकेका छैनन्।

यता सुदूरपश्चिम प्रदेशका नेता एवं उद्योगमन्त्री लेखराज भट्टले पनि ओलीसँग बार्गेनिङ गरिरहेका छन्। सुदूरपश्चिम प्रदेशलाई ‘औपनिवेश’ नठान्न चेतावनी दिएका भट्टको साथमा श्रममन्त्री चौधरी पनि छन्। प्रदेशका केही नेता–कार्यकर्ता भट्टको साथमा भएका कारण पनि उनले प्रधानमन्त्री ओलीसँग अलग्गै बार्गेनिङ गरिरहेका छन्।

त्यस्तै शहरी विकासमन्त्री प्रभु साहले आफ्नो समूहलाई उचित हिस्सा दिन ओलीमाथि दवाव बढाइरहेका छन्। जनमतका दृष्टिले मधेशमा आफ्नो समूह बलियो रहेको दावी गर्दै उनले आफूहरुलाई केन्द्रीय समितिमा सम्मानजनक हिस्सा दिनुपर्ने बताउँदै आएका छन्। भूमि व्यवस्था आयोगमा मधेशमा पनि ओलीकै मान्छे राखेपछि साह प्रधानमन्त्रीसँग रुष्ट छन्।

ओली समूहतिर लागेका अधिकांश मन्त्री र सांसदले प्रतिनिधि सभा विघटनको निर्णय रुचाएका छैनन्। तर, ओलीसँग सत्ता र स्रोत भएका कारण तत्काल सम्बन्धबिच्छेद गर्ने मनस्थितिमा पनि उनीहरु देखिएका छैनन्। त्यसकारण जति सकिन्छ बार्गेनिङ गरेर लाभ लिनुपर्छ भन्ने सोंचमा उनीहरु रहेको खानेपानीमन्त्री थापानिकट स्रोतको दाबी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्