काठमाडौं। नेपाल मामिलाका विज्ञ प्राध्यापक एसडी मुनीले भारतीय गृहमन्त्री अमित शाहको टिप्पणी फिर्ता लिनुपर्ने बताएका छन्। शाहको अभिव्यक्तिबारे थप प्रष्टीकरणको जरुरी रहेको उनले उल्लेख गरेका छन्।
नेपाल र श्रीलंकामा सत्तारुढ दल बीजेपीले शासन गर्नुपर्छ भन्ने शाहको अभिव्यक्ति क्षेत्रीय सहयोग र एकीकरणको विपक्षमा भएको समेत मुनीले ट्वीटरमार्फत टिप्पणी गरेका छन्। शाहको अभिव्यक्ति विदेशमन्त्री एस जयशंकरको क्षेत्राधिकार र छिमेकी मुलुकको सार्वभौमसत्ता र राज्य संरचनाविरुद्ध लक्षित भएको समेत मुनीले उल्लेख गरेका छन्।
त्रिपुराका मुख्मन्त्री विप्लव देवले यसैसाताको एक कार्यक्रममा शाहले नेपाल र श्रीलंकामा संगठन विस्तार गरेर बीजेपी सरकार बनाउनुपर्छ भनेर अभिव्यक्ति दिएको खुलासा गरेका थिए। उक्त अभिव्यक्तिको कांग्रेससहितका भारतीय विपक्षी दलले विरोध गरेको छ।
नेपालले शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भारतीय विदेश मन्त्रालयमा ध्यानाकर्षणसहितको कुटनीतिक नोट पनि पठाएको छ।