विराटनगर। प्रदेश १ को सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) बीच वित्तीय सहकार्यका लागि समझदारी भएको छ।
सार्वजनिक-निजी साझेदारीका माध्यमबाट प्रदेशको पूर्वाधार विकासका लागि परियोजना विकास तथा कार्यान्वयनको चरणमा आवश्यक वित्तीय तथा प्राविधिक सहकार्य तथा सहयोग र अन्य आवश्यक सेवाको सम्बोधन गर्न समझदारी भएको हो।
प्राविधिक र आर्थिक रूपमा सम्भावित प्रादेशिक पूर्वाधारका परियोजना पहिचान गर्नु र सम्भावित परियोजनामा वित्तीय तथा प्राविधिक विश्लेषण र परियोजनाको बजारीकरण समझदारीपत्रको मूल उद्देश्य रहेको मुख्यमन्त्री शेरधन राईले बताए।
‘विकासकर्ता छनोटका लगानी आवश्यक सहयोग, बैंकका तर्फबाट वा बैंकको अगुवाइमा स्वपुँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोगका लागि हामीले सहकार्य गरेका हौं’, उनले भने, ‘यसले प्रदेश १ मा पूर्वाधारका परियोजनाको विकासमा महत्वपूर्ण योगदान राख्छ।’
मंगलबार मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा प्रदेश १ को सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरणका तर्फबाट निर्देशक डा.सरोज कोइराला र निफ्राका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका हुन्।
निर्देशक कोइरालाले प्रदेश १ मा कोसी रिफ्रेसमेन्ट सेन्टर, बिमा बाम्बो प्रोजेक्ट, इलेक्ट्रिक बस प्रोजेक्ट, उदयपुर सिमेन्ट रिभाइटजाइजेशन प्रोजेक्टलगायतका केही पूर्वाधारका परियोजनाहरूमा लगानीका लागि प्रारम्भिक अध्ययन विश्लेषण सम्पन्न भइसकेको बताए।