ओलीको निर्देशनमा प्रदेशसभा बैठक स्थगित गरियो : अष्टलक्ष्मी शाक्य

Ashta-Laxmi-Shakya
  • 620
    Shares
लोकपाटी न्यूज

काठमाडौं। बुधबार (आज)का लागि बोलाइएको बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। अविश्वासको प्रस्तावमा छलफल गर्ने सहमतिविपरीत सूचना प्रकाशित नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको हो।

प्रदेशसभा बैठक स्थगित भएपछि मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध परेको अविश्वासको प्रस्ताव अन्योलमा परेको छ। मंगलबार राति अबेरसम्म सभामुख सानुकुमार श्रेष्ठले दलहरूसँग गरेको छलफलमा आजदेखि अविश्वासको प्रस्तावमाथि छलफल गर्ने सहमति भएको थियो। बैठक नै स्थगित भएपछि मुख्यमन्त्री पौडेलको पद केही समयका लागि जोगिन पुगेको छ।

नेकपाका स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यले प्रदेशसभा बैठक स्थगित गरेकोमा आपत्ति जनाएकी छिन्। ‘कांग्रेससहित हामी सबै बसेर अविश्वासको प्रस्तावमाथि छलफल गर्ने सहमति भएको हो। तर उहाँले अहिले आफ्नो बोली फेर्नुभएको छ,’ उनले भनिन्, ‘प्रदेश सभाका दलहरूसँग भएको सहमति भन्दा पनि ‘माथि’को आदेशलाई उहाँले मान्नुभएको छ। सभामुखले आफ्नो निर्णय दिन सक्नुभएन।’

अविश्वासको प्रस्तावमा छलफल गर्ने अनि मतदानमा जाने सहमति भएको समेत उनले बताइन्। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध प्रचण्ड-नेपाल निकटका ४५ जना सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। १ सय १० सदस्यीय प्रदेश सभामा ८० जना नेकपाका सांसद छन्। जसमध्ये आफूहरूसँग ४९ जना सांसद रहेको प्रचण्ड-नेपाल पक्षको दाबी छ।

मुख्यमन्त्री पौडेल र सभामुख श्रेष्ठ दुवै प्रधानमन्त्री केपी ओली पक्षका हुन्। बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुँयालले भने अविश्वासको प्रस्तावमाथिको मतदानबारे कार्यविधि नबनेकाले समस्या आएको बताए। उनले यसका लागि यसअघि नै कार्यदल बनेको भए पनि त्यसले प्रतिवेदन नबुझाएको बताए।

‘अहिले त ‘नो भोट’ भन्ने पनि छ। तर हाम्रो नियमावलीमा त्यस्तो छैन। अविश्वासको प्रस्तावलाई कसरी टुंगो लगाउने भनेर अझै कार्यविधि तयार नभएकाले ढिलो भएको हो,’ उनले भने, ‘अर्कोतिर नेकपा अझै कानुनी रूपमा विभाजन भएको छैन। चुनाव चिन्हको टुंगो लागेको छैन। यस्तो अवस्थामा सहमतिका आधारमा जानुपर्छ भनेर बैठक स्थगित भएको मेरो बुझाइ हो।’

सभामुख सहितको बैठकमा प्रदेश सभामा अविश्वास प्रस्तावबारे छलफल गर्ने सहमति नभएको उनले दाबी गरे। बुधबार दिउँसो २ बजेका लागि तय बैठक आजै बिहान ६ बजे मोबाइलमा म्यासेज पठाएर स्थगित गरिएको प्रदेश सांसद रचना खड्काले जानकारी दिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्