बालुवाटारको मुहानबाट मन्त्रीहरुको धारा-धारामा भ्रष्टाचार

KP_Tem
  • 1.3K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थापनाको ३०औँ वार्षिकोत्सव मनायो। ‘सार्वजनिक पदधारण गरेको व्यक्तिले अनुचित कार्य वा भ्रष्टाचारी गरी अख्तियारको दुरुपयोग गरे त्यसको अनुसन्धान र तहकिकात गर्न यो संस्था स्थापना गरिएको हो’ भनिन्छ। तर, दुर्भाग्य यसै संस्थाका पूर्वप्रमुख आयुक्त र आयुक्तहरू भ्रष्टाचारको मुद्दामा कारबाहीमा परेका छन्।

यो घटनाले जुन उद्देश्यले यो संस्थाको स्थापना भएको छ, ठिक त्यसको उल्टो गतिमा यो संस्था हिँडिरहेको छ भन्ने पुष्टि हुन्छ। अख्तियारका प्रमुख आयुक्त, आयुक्त र त्यहाँका कर्मचारीहरूबाट नै अनुचित कार्य किन हुन्छ भन्दा पहिलो कुरा उनीहरू स्वयं आयोगप्रति इमान्दार छैनन् भन्ने नै हो।

दोस्रो कारण प्रमुख आयुक्त र आयुक्तहरू राजनीतिक दलको भागबण्डामा नियुक्त हुन्छन्। यसरी नियुक्ति हुनेहरूले राजनीतिक दलका नेताहरूलाई राम्रै रकम बुझाएका हुन्छन् र विगतमा आफूले गरेका भ्रष्टाचारका फाइल लुकाउन पाएसम्म प्रमुख आयुक्त, नपाए आयुक्तको नियुक्तिमा चलखेल गरेका हुन्छन्।

जसले बढी चलखेल गर्यो, त्यसैलाई राजनीतिक दलका नेताहरूले आयोगको आयुक्तमा नियुक्ति गर्ने हुँदा त्यसरी नियुक्त भएर जानेहरूको सबैभन्दा पहिलो ध्यान नियुक्त हुँदा खर्च गरेको रकम उठाउनेतिर केन्द्रित हुन्छ। त्यो रकम उठाउन ठूला ठूला भ्रष्टाचारमा मुछिएका कर्मचारीहरूसँग सेटिङ गर्नुपर्ने हुन्छ।

त्यसैले आजसम्म ठूला माछा अख्तियारबाटै उम्कँदै आएका छन्। अख्तियारको वार्षिक प्रतिवेदन हेर्ने हो भने भूरा माछा मात्रै कारबाहीमा पर्दै आएका छन्। ठूला माछाले त सेटिङमै नीतिगत निर्णयबाट अर्बौ रुपैयाँ कुम्ल्याउँदै आएका छन्। यो तथ्य प्रमुख आयुक्त राईले राम्रैसँग बुझेका छन्।

आयोगको सचिवको जिम्मेवारी समेत सम्हालिसकेका राई इमान्दार छवि भएका योग्य प्रशासक हुन्। तर, प्रमुख आयुक्तको जिम्मेवारीमा आएपछि नीतिगत निर्णय गर्ने ठूला माछा उनको चुनौती बनेको छ।

२०४८ सालदेखि अहिलेसम्म राजनीतिलाई व्यापारको माध्यम बनाएका प्रधानमन्त्री, मन्त्री, सांसद, सचिव, सहसचिव, उपसचिव, सुब्बा, खरिदार, सुरक्षा निकायका प्रमुखहरूको सम्पत्ति छानबिन गर्ने हो भने सायद कसैले पनि आफ्नो वास्तविक स्रोत खोल्न सक्दैनन्।

पचास, साठी हजारको तलबले काठमाडौंमा भव्य महल, गाडी र छोराछोरीलाई महँगो शिक्षा कसरी सम्भव होला ? त्यो सबैको स्रोत भनेको अनुचित कार्य नै हो। त्यसमाथि न्यायालय सबैभन्दा बढी दुर्गन्धित छ। न्यायाधीशहरुले आफ्नो सम्पत्ति विवरणसमेत सार्वजनिक गर्दैनन्।

को न्यायाधीश कति भ्रष्ट छ भन्ने कुरा सारा दुनियाँलाई थाहा छ, तर त्यो व्यक्तिलाई नै देशमा सम्माननीय, माननीय भनेर सम्बोधन गर्नुपर्ने लाजमर्दो अवस्था छ। न्यायाधीश, सरकारी वकिल र प्रहरीको सेटिङमा देशैभरि भ्रष्टाचार संस्थागत बनेको छ। कानूनी राजमा न्याय मरेको अवस्था छ।

त्यसैले जनताहरू बेलाबेला विद्रोहमा उत्रने गरेका छन्। जनताको चरम असन्तुष्टिका कारण ठूला ठूला राजनीतिक परिवर्तन भए पनि त्यो परिवर्तनले देशमा सुशासन कायम गर्न सकेको छैन। पञ्चायतकालमा हजार घुस खाने व्यक्तिको भाउ बहुदल कालमा एक लाखदेखि करोडौं पुग्यो।

गणतन्त्र स्थापना भएपछि त्यो करोडबाट अर्बमा उकालो लागेको कुरा त ‘टेप काण्ड’बाटै छर्लंग हुन्छ। २०४८ सालमा हात्तीछाप चप्पल लगाएर सिंहदरबार छिरेको एउटा सांसद, एउटा मन्त्री, एउटा कर्मचारी आज सिंहदरबारबाट बाहिर निस्कँदा आफैँ हात्ती बनेको धेरै उदाहरणहरू छन्। यसको मतलब मुहान नै फोहर छ।

भ्रष्टाचार सिंहदरबारबाटै सुरु भएको छ। मुहान सफा गर्ने हो भने मात्र भ्रष्टाचार न्यून होला, नभए यो भ्रष्टाचारले अब मुलुकलाई दक्षिण अफ्रिकी मुलुकतिर धकेल्ने छ। जहाँ भ्रष्टाचारका कारण राजनीतिक अस्थिरता मौलाएको छ। ती मुलुक आज गृहयुद्धको चपेटामा परेको छ।

‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्न’। म मेरो देश र जनताको लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु।’ भनेर सिंहदरबारदेखि गाउँपालिकाको ढोका ढोकामा प्रधानमन्त्री केपी शर्मा ओलीको महानवाणी टाँसेर देशमा भ्रष्टाचार अन्त्य हुँदैन। जनतासमक्ष यस्तो प्रतिज्ञा गर्नेले आफ्नो सम्पत्तिको स्रोत पनि खोल्नुपर्छ।

मुलुकका कम्युनिस्ट प्रधानमन्त्री, मन्त्रीहरूले सबै सम्पत्ति श्रीमतीको दाइजो हो भनेर उम्कन पाउँदैनन्। यदि अख्तियारले राष्ट्रपतिसमक्ष देश र जनताका नाममा शपथ खाएजस्तो काम गर्ने हो भने सबैभन्दा पहिला प्रधानमन्त्री, मन्त्रीहरूको सम्पत्तिको स्रोत खोज्नुपर्छ।

बेलाबखत प्रधानमन्त्री, मन्त्रीहरूले सार्वजनिक गर्ने सम्पत्ति त हात्तीका देखाउने दाँत मात्र हुन्। चपाउने दाँत धेरै छन्। सत्ताको उच्च ओहदामा बसेर अकूत सम्पत्ति कमाउनेहरूले आफूले कमाएको अवैध धन नवधनाढ्यहरुलाई प्रयोग गर्न दिएका छन् भनिन्छ।

२०४८ सालपछि देशमा उदाएका नवधनाढ्यहरुको सम्पत्तिको स्रोत पनि अकूत सम्पत्ति नै हो। ती सम्पत्तिहरू बैंक, शेयर बजार, जलविद्युत्, तारे होटेल, हाउजिङ कम्पनी, सपिङ मल र विभिन्न उद्योगमा विभिन्न व्यक्तिहरूको नाममा लगानी भएको छ।

एक स्रोतका अनुसार वार्षिक डेढ खर्ब रुपैयाँ कालो धन विभिन्न क्षेत्रमा लगानी हुन्छ। यसरी लगानी गर्ने कतिपय व्यक्तिहरूका विषयमा सम्पत्ति शुद्धीकरण विभागले छानबिन गरेको भए पनि अहिले त्यो विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गत आएकोले छानबिन बन्द छ।

स्रोतका अनुसार विभागमा अजय सुमार्गी, उपेन्द्र महतो, शशिकान्त अग्रवाल, सतिसलाल आचार्य, अरुण चौधरीलगायत हजारौं व्यापारीको नाम छ। कतिपय नव धनाढ्यको त स्वीस बैंकमा समेत खाता भएको पानामा पेपर्पले सार्वजनिक गरिसकेको छ।

श्रीमतीको जागिर

प्रधानमन्त्री ओली दोस्रो पटक २०७४ फागुन ३ गते नियुक्त भएपछि उनले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार आफ्नो नाममा एभरेस्ट बैंकमा ४२ लाख रुपैयाँ देखाएका थिए। उक्त रकम तलब भत्ताबाट प्राप्त भएको जनाइएको छ।

भक्तपुर सूर्यविनायक-२ मा श्रीमती राधिका शाक्यको नाममा १ रोपनी जग्गामा ३ तले घर र आधा रोपनीमा अर्को तीन तले घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ। यस्तै, झापाको पृथ्वी नगरमा १० कट्ठा जमिन पनि राधिकाकै नाममा छ।

सुनका गहना १७-१८ तोला रहेको विवरणमा उल्लेख छ। शाक्यको नाममा माछापुच्छ्रे बैंकमा ४ लाख, प्रभु बैंकमा ६ लाख तथा राष्ट्रिय बचत पत्रमा २५ लाख रुपैयाँ देखाइएको छ। उक्त रकम राष्ट्र बैंकमा प्रथम श्रेणीको अधिकृत हुँदा आर्जन गरेको उल्लेख छ। श्रीमतीको जागिरबाट मात्र यति धेरै सम्पत्ति आर्जन कति सम्भव होला ?

किताब बेचेको सम्पत्ति

त्यस्तै रक्षा मन्त्री ईश्वर पोखरेलले अधिकांश सम्पत्ति श्रीमती मिरा पोखरेल ध्वजुको नाममा देखाएका छन्। श्रीमती मिराको नाममा झापाको चन्द्रगढीमा १२ कट्ठा पैत्रिक सम्पत्ति छ भने, इन्भेस्टमेन्ट बैंकमा ७ लाख रुपैयाँ नगद मौज्दात छ।

उक्त रकम भ्रमण भत्ता, पुस्तक बिक्री र पारिश्रमिकबाट प्राप्त भएको उल्लेख छ। काठमाडौंको टोखा-६ मा २३ आना जग्गामा बनेको ३ तले घर श्रीमतीकै नाममा छ। भक्तपुर, नगरकोटमा ११ रोपनी ११ आना र धादिङको खानी खोलामा ४ रोपनी पाखो पनि श्रीमतीकै नाममा छ।

७-८ तोला सुन, २२-२५ तोला चाँदी तथा विभिन्न बैंक खातामा ६ लाख ४० हजार रुपैयाँ पनि श्रीमती पोखरेलको नाममा राखिएको छ। यी सबै घरजग्गा बिक्री, पेवा र स्वआर्जनबाट प्राप्त भएको विवरणमा उल्लेख छ।

यस्तै, वरुण हाइड्रोमा १० हजार, कृषि विकास बैंकमा दुई सय र मोर्डन कन्या मल्टिपल कलेजमा ५ हजार कित्ता सेयर पनि श्रीमती पोखरेलकै नाममा उल्लेख छ। यो सम्पत्तिको स्रोत के होला ? उनको श्रीमती कुन उद्योग व्यवसायीमा छन्। त्यो भने खुलाइएको छैन।

रेष्टुराँको आम्दानी

गृहमन्त्री रामबहादुर थापाले पनि श्रीमतीको नाममा धेरै चल अचल सम्पत्ति रहेको उल्लेख गरेका छन्। आफ्नो नाममा भने एभरेस्ट बैंकमा ५० हजार नगद मात्र रहेको उल्लेख छ।

थापाकी श्रीमती नैनकलाको नाममा भरतपुर महानगरपालिका-१०, चित्रसेनमार्ग र वडा ११ को भोजाडमा जग्गा छ। थापाले सुन ६ तोला रहेको उल्लेख गरेका छन्। सुन माइतीबाट र आफन्तबाट प्राप्त भएको बताएका छन्।

तीन लाख नगद आफ्नै घरजग्गामा साझेदारीमा चलाएको रेस्टुरेन्टबाट प्राप्त भएको उल्लेख छ। उनका स्वकीय सचिव बिरु तामाङको खातामा ३ लाख ६० हजार १ सय ९३ रुपैयाँ रहेको उल्लेख छ। उनले सम्पत्ति विवरणमा एउटा गाडी र छिमेकीले २०७२ सालमा दिएको उल्लेख गरेका छन्।

घर किन्न सापटी

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सम्पत्ति विवरणमा ऋण बढी देखाएका छन्। दुई वर्ष अगाडि उनको नाममा एभरेस्ट बैंकमा २ लाख ५७ हजार २ सय ८३ रुपैयाँ र कृषि विकास बैंकमा २ हजार रुपैयाँ मौज्दात छ।

उनले घरमा कोठा थप्ने प्रयोजनका लागि स्वदेश तथा विदेशमा रहेका ९ जनासँग १४ लाख ८५ हजार ऋण लिएको उल्लेख गरेका छन्। उनकी श्रीमती सरस्वती ज्ञवाली अर्यालको नाममा काठमाडौं-३१ मा ४ आना २ पैसा ३ दामको जग्गामा दुई तले घर छ। साथै अनुमानित २ तोला सुन मात्र रहेको उल्लेख छ।

कहाँबाट आयो ?

महिलामन्त्री श्रीमती जुलीकुमारी महतोले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरे पनि उनका पति रघुवीर महासेठले भौतिक पूर्वाधार मन्त्री हुँदा सबै सम्पत्ति आफ्नो श्रीमती जुली महतोको नाममा देखाएका छन्। जुलीको जनकपुर उपमहानगरपालिका-९ मा करिब ४२ सय वर्ग फिटमा साढे दुई तले घर र उनकै नाममा ललितपुर महानगर-२५ मा ५८ सय वर्ग फिटमा बनेको साढे दुई तले घर रहेको उल्लेख छ।

ललितपुरमा २०५६ मा जग्गा खरिद गरेर घर बनाएको उल्लेख छ। सगोलमा धनुषाको मिथिला विहारी नगरपालिका-३ मा ६५ सय वर्ग फिट सम्पत्ति छ। यस्तै, श्रीमती महतोकै नाममा धनुषा छिरेश्वर नगरपालिकामा ८ बिघा जमिन रहेको उल्लेख छ। उनकै नाममा सिन्धुलीको कमलामाई, ललितपुरको नख्खु र धोबिघाटमा जमिन रहेको उल्लेख छ।

नगद ७२ लाखसहित सुन २७ तोला, दाइजोबाट पाएको सुन २५ तोला, चाँदी डेढ केजी, जवाहरात, औंठी, सिक्रीलगायत गरगहना भएको उल्लेख छ। जवाहरात विदेशी पाहुनाबाट प्राप्त भएको महासेठले उल्लेख गरेका छन्। श्रीमती महतोकै नाममा माछापुच्छ्रे, एनआईसी एसिया, स्टान्डर्ड चार्टर्ड बैंकमा रकम जम्मा भएको उल्लेख छ।

जुलीकै नाममा गुडविल फाइनान्स, काठमाडौंमा ७० हजारको सेयर, एनभीपीएल प्रालिमा ३७ करोड, कर्पोरेट बैंक वीरगन्जमा २ करोड ५० लाख, लक्ष्मी बैंक काठमाडौंमा एक करोड ५० लाख, महिला अधिकार तथा विकास केन्द्रमा ५० लाख सेयर छ। उनले सगोल परिवारका नाममा पनि विभिन्न ठाउँमा जग्गा रहेको विवरणमा उल्लेख गरेका छन्।

यो सम्पत्तिको स्रोत के हो अब अख्तियारले खोज्नुपर्छ। यसबाहेक ऊर्जामन्त्री टोपबहादुर रायमाझी, वनमन्त्री प्रेम आले, कानूनमन्त्री लीला श्रेष्ठ, सञ्चारमन्त्री पार्वत गुरुङ, उद्योगमन्त्री लेखराज भट्ट, स्वास्थ्यमन्त्री हृदेश त्रिपाठी, खानेपानीमन्त्री मणि थापा, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, पर्यटनमन्त्री भानुभक्त ढकाल, संघीय मामिलामन्त्री गणेश ठगुन्ना, भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ, खेलकुदमन्त्री दावा लामा, श्रममन्त्री गौरीशंकर चौधरीको सम्पत्ति विवरण सार्वजनिक भएको छैन।

स्वास्थ्यमन्त्री त्रिपाठीले त्यतिबेलै सार्वजनिक गरेको सम्पत्ति विवरण देखेर अख्तियारका प्रमुख लोकमानसिंह कार्कीले समेत जिब्रो टोकेका थिए। दृष्टिबाट