शम्भु थापाकाे माग : सर्वाेच्चले संसदकाे बैठक बस्ने मितिसमेत ताेक्नुपर्छ

shambhu-thapa
  • 6.2K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। वरिष्ठ अधिवक्ता शम्भु थापाले अदालतले संसद पुनर्स्थापना गर्दा निश्चित दिनभित्रै बैठक बसिसक्नु भनेर पनि तोकिनु पर्ने माग गरेका छन्। सर्वाेच्च अदालतमा संसद विघटन सम्बन्धी रिट निवेदकका तर्फबाट प्रतिरक्षा बहसमा भाग लिँदै थापाले यस्तो बताएका हुन्।

यसअघि प्रधानमन्त्रीका तर्फबाट बहस गर्ने वकिलहरुले संसद पुनर्स्थापना भैहाले पनि प्रधानमन्त्री अथवा सरकारले संसद बैठकका लागि सिफारिस दिएन भने के हुन्छ भनि प्रश्न गरेका थिए। सोमबार त्यसको जवाफ दिँदै अधिवक्ता थापाले भने, ‘सर्वाेच्चको आदेशमै यति दिनभित्र संसद बैठक बोलाइसक्नु पर्ने भनेपछि सभामुखले बैठक बोलाउँछन् र त्यहाँ प्रधानमन्त्री पनि उपस्थित हुन्छन्।’

थापाले संविधानमा नलेखिएको कुरा विशेषधिकार भनेर प्राप्त गर्न नसकिने बताए। संविधानको धारा ७४ मा उल्लेखित संसदीय शासन प्रणाली भनको सरकारको स्वरुप मात्रै रहेकोले त्यसबाट विशेष अधिकार प्राप्त नहुने तर्क उनले गरे।

संसद फेस गर्न नसकेपछि अहिलेसम्म विघटनको कदम चालिएको बताउँदै उनले अहिलेको संविधानले त्यो अधिकार नदिएको बताए। ‘अहिले त संविधानमा नै संसदको अवधि पाँच वर्ष हुने भनेर लेखिएको छ तै पनि विघटन गरियो। यसलाई अदालतले सदर गर्नु हुँदैन’, थापाले भने। उनले धारा ५८ उल्लेखित अविशिष्ट अधिकार पनि राष्ट्रपति र प्रधानमन्त्रीको अधिकार नभई संघीय संरचनाहरुको अधिकार रहेको जिकिर गरे।

उनले संसद प्रधानमन्त्रीको नोकर नहुने बताउँदै इजलासमा बसेका न्यायाधीशहरुलाई इतिहास बनाउने अवसर प्राप्त भएको बताए। धारा ७५ मा व्यवस्था गरिएको कार्यकारिणी अधिकार मन्त्रिपरिषदको अधिकार रहेको बताउँदै उनले त्यसलाई प्रधानमन्त्रीको अधिकारका रुपमा बुझिन नहुने बताए।