अभियुक्त पक्रिन सफल भएकोमा नेपाल प्रहरीलाई धन्यवाद : गृहमन्त्री थापा

  • 41
    Shares
लोकपाटी न्यूज

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेश भट्टलाई सार्वजनिक गरेलगत्तै नेपाल प्रहरीलाई धन्यवाद दिएका छन्। भागरथीको हत्यामा संलग्न दिनेशलाई सार्वजनिक गरेलगत्तै गृहमन्त्री थापाले नेपाल प्रहरीसहितको टिमलाई धन्यवाद दिएका हुन्।

गृहमन्त्री थापाले बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त कानुनी कारवाहिको दायरामा आएका छन्। अभियुक्त पक्राउ गर्न सफल नेपाल प्रहरी सहितको टिमलाई धन्यवाद। सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न गृहमन्त्रालय संवेदनशील रहेको तथा यस्ता घटनामा संलग्नहरुलाई कारवाहिको दायरामा ल्याउन प्रतिवद्ध रहेको दोहराउन चाहन्छु।’

बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीया भागरथी भट्टको शव भेटिएको दुई सातापछि प्रहरी एक किशोरलाई आरोपितको रूपमा बुधवार सार्वजनिक गरेको हो।प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रमाण र सन्दिग्धको स्वीकारोक्तिका आधारमा उनलाई सार्वजनिक गरिएको सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले बताएका छन्। घटनाको १३ औँ दिनसम्म प्रहरीको निगरानीमा रहेका उनलाई दुई दिनअघि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।