काठमाडौं। काठमाडौंमा आज बिहीबार दिउँसो पानी पर्ने सम्भावना रहेको छ। दिउँसो १ बजेपछि मौसममा बदली भएर मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए।
उनले आज राति काठमाडौंको मौसम केही सफा देखिने बताए। दुईतीन दिनसम्म पनि मौसम सफानै देखिए पनि त्यसपछि पुनः बदली हुने सम्भावना रहेको मौसमविद् अर्यालले बताए।आज बिहान देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश २ र प्रदेश ३ लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् अर्यालले जानकारी दिए।
आजराति प्रदेश १ मा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ।