काठमाडौं। सरकारले पेट्रोलको मूल्य बढाएको विरोधमा अनेरास्ववियूले विरोध प्रदर्शन गरेको छ। राजधानीको रत्नराज्य क्याम्पस र त्रिचन्द्र क्याम्पस अगाडि अखिलका विद्यार्थीले टायर जलाएर सरकारी कदमको विरोध गरेको हो।
नेपाल आयल नियगले एक साता नबित्दै दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको छ। गत हप्ता माघ २८ गते बुधबार मात्रै खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले फागुन ४ गते मंगलबार पुनः मूल्य बृद्धि गरेको हो।
उपभोक्ताले पेट्रोल लिटरको १ सय १४ रुपैयाँ र डिजल तथा मट्टितेल ९७ रुपैयाँ तिर्नुपर्ने भएको छ। त्यसको विरोधमा अनेरास्ववियूले काठमाडौंको रत्नराज्य क्याम्पस र त्रिचन्द्र क्याम्पस अगाडि कालोपट्टी बाँधेर र टायर बालेर विरोध प्रदर्शन गरेका छन्।
विद्यार्थीले बालेका टायर प्रहरीले निभाएको थियो। विरोध प्रदर्शनमा विद्यार्थीहरुले सरकारविरुद्ध नाराबाजी पनि गरेका थिए। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको जिकिर गर्दै सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।