चरुवा कार्यकर्तालाई बढुवा कि घटुवा ?

Raju Aryal
लाेकपाटी न्यूज
0 Shares

राजु अर्याल। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेपछि राजनीति तातेको छ। ठूला दलहरु संसद विघटनको पक्ष र विपक्षमा सडकमा छन्। कतिले यसलाई प्रधानमन्त्रीको बाध्यता भनेका छन्। कतिले प्रधानमन्त्रीभन्दा संविधान ठूलो भएकाले ओलीको कदम गलत भनेका छन्। तर, यही मौकामा कार्यकर्ता भने ‘मौकामा चौका’ हान्न व्यस्त देखिएका छन्।

पुस ५ गतेपछि नेकपाका कार्यकर्ताहरुको दौडाइ भ्याइनभ्याइ छ। उनीहरु कहिले प्रचण्डकोमा गएर ‘ओलीको कदम प्रतिगमन नै हो’ भन्छन्। त्यसको भोलिपल्ट बालुवाटार पुगेर ‘प्रधानमन्त्रीज्यू, ठूलो आँट गरेर देश जोगाउनुभयो’ भन्न पनि भ्याउँछन्। उनीहरुसँग कस्तो नेता भेट्यो, त्यस्तै कुरा गर्ने गज्जबको खुबी छ। त्यही खुबीका कारण उनीहरु सधैं राजनीतिमा लाभको पदमा हुन्छन्।

कम्युनिस्ट पार्टीमा सिद्धान्त प्रमुख हुनुपर्ने हो। तर, नेपालमा त्यस्तो देखिएको छैन। ‘कम्युनिस्टहरु कमाउनिस्ट भए’ भन्ने जनताको गुनासो दिनदिनै बढ्दैछ। कार्यकर्ता मात्र होइन, नेताहरु नै पदको पछि दगुरेपछि कसको भरोसा गर्नु ? जनताले राजनीतिलाई कसरी सिद्धान्तको बहस बुझ्नु ? जनताले पार्टीको सिद्धान्त ढिलो बुझ्छन्। तर, नेताहरुको व्यवहार तत्काल बुझ्छन्। जनताको आँखामा नेताले गर्ने व्यवहार नै त्यसको पार्टीको सिद्धान्त हो। अहिले नेपालमा कम्युनिस्ट पार्टीमा पनि त्यस्तै चरित्र देखिएको छ।

संसद भंग भएपछि अहिलेका शहरी विकासमन्त्री प्रुभ साह प्रचण्ड–नेपालको पक्षमा थिए। तर, ओलीले मन्त्री दिने भएपछि रातभरिमा उनी ओलीतिर पल्टिए। प्रचण्ड–नेपालको आन्दोलनमा माइतीघर आएका श्रम तथा रोजगारमन्त्री गौरीशंकर चौधरीले पिसाब फेर्न जान्छु भनेर शितलनिवास गएर सपथ लिएको चर्चा त अझै सेलाएको छैन। प्रचण्डतिर आएका मधेशका अर्का हस्ती रघुवीर महासेठ आफ्नी श्रीमति जुली महतोले मन्त्री पाउने भएपछि ओलीतिर ढल्किए।

प्रचण्ड–नेपालबाट सत्ताका लागि ओलीतिर आउने मात्र होइन, ओलीको भविष्य नदेखेर प्रचण्ड–नेपालतिर आउने पनि उत्तिकै छन्। पुस ५ पछि ओलीतिर लागेका पूर्वमन्त्री शेरबहादुर तामाङ र उनकी श्रीमति केही दिनपछि प्रचण्ड–नेपालतिर आए। उनीहरु किन फर्किए ? त्यो अहिले पनि रहस्यको विषय बनेको छ। त्यस्तै ओली सरकारमा खेलकूदमन्त्री रहेका दावा तामाङका श्रीमान–श्रीमति अलगअलग पार्टीमा छन्। तामाङ ओली सरकारको मन्त्री छन्, प्रदेश सांसद रहेकी उनकी श्रीमति कुमारी मोक्तान प्रचण्ड–नेपाल समूहतिर छन्। उनीहरु सिद्धान्तको विवादले फरक धारमा छन् कि मिलेमतोमा ? अहिलेसम्म यकिन भइसकेको छैन।

यी त केही उदाहरण मात्र हुन्। नेकपाका दुवैतिर यस्ता अवसरवादी नेता–कार्यकर्ता प्रशस्तै छन्। उनीहरु आफ्नो स्वार्थ पूरा हुनेबित्तिकै पार्टी चहारिरहन्छन्। तर बिडम्वना, नेतृत्वले यस्तै कार्यकर्तालाई काखी च्यापेर पूराना नेता–कार्यकर्तालाई लात हानिरहेका छन्। मूल पार्टी छोडेर जाँदा पनि बढुवा, फर्केर आउँदा फेरि बढुवा हुने भएपछि पूराना कार्यकर्ता जहाँको तहीँ छन्, चरुवा कार्यकर्ता भने ३/३ महिनामा बढुवा भइरहेका छन्।

ओलीले चालेको संसद विघटनको कदम देशको हितमा छैन। यसले देशमा नयाँ द्वन्द्व जन्माएको छ। सर्वोच्च अदालतमा बहस जारी भए पनि देश कता जाने हो, कुनै ठेगान छैन। यस्तो बेलामा पनि कार्यकर्ता ओलीतिर लाग्नु भनेको देश बिर्सिनु हो, संविधानको मर्म नबुझ्नु हो। आफ्नो स्वार्थभन्दा माथि नहेर्नु हो। तर, ती कार्यकर्ता ओलीमा पनि लामो समय टिक्दैनन्। संसद पुनर्स्थापना भयो भने तिनीहरु रातारात प्रचण्ड–नेपालतिर फर्किनेछन्।

तर, त्यसरी फर्किएका कार्यकर्ताबारे प्रचण्ड–नेपालले के सोच्दैछन् ? धेरैको चिन्ता छ, अहिले ओलीतिर लागेर सुन्नै नसक्ने गाली गर्नेहरु फर्किएपछि पनि पुरस्कृत हुनेछन्। पार्टीमा बहुमत जुटाउन नेताहरुले तिनीहरुलाई नै माथिल्लो कमिटीमा जिम्मा दिनेछन्। अनि, अहिले प्रतिगमनका विरुद्ध लडिरहेका नेता–कार्यकर्ता फेरि पनि भूइँको भूइँमा नै हुनेछन्। त्यसले पार्टीभित्र निरासा र आक्रोश जन्माउनेछ। त्यसैले नेताहरुले त्यतातिर कहिले सोच्लान् ? तसर्थ, चरुवा कार्यकर्तालाई नेकपाले बढुवा होइन, घटुवा गर्नुपर्छ।

(गल्याङ–११, स्याङ्जा, हाल : काठमाडौं)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्