प्रधानमन्त्री ओलीसँग दाह्री ग्याङका युवाको भेट

  • 24
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सामाजिक सञ्जालमा सक्रिय दाह्री ग्याङका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। बुधबार साँझ प्रधानमन्त्री निवासा बालुवाटारमा प्रधानमन्त्री र युवाहरूबीच भेट भएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले दाह्री ग्याङका सदस्यसँग भेट भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘राष्ट्रका लागि युवा- दाह्री ग्याङसँगको भेट।’ उक्त भेटमा सहभागी भएका युवा लेनिन बिष्टले राष्ट्रका लागि युवा भन्ने अभियानमा रहेका युवाहरूले प्रधानमन्त्रीलाई भेटेको बताए।

‘यो अभियानमा युवा डाक्टर, इन्जिनियरका सहित १७० वटाजति संघसंस्था छन्, त्यसमध्ये दाह्री ग्याङ पनि एउटा हो,’ उनले भने,‘हाम्रो अभियानमा रहेका युवाहरूले रकेट बनाउँदै हुनुहुन्छ। त्यसबारे प्रधानमन्त्रीलाई जानकारी दिन बालुवाटार गएका हौं।’

राष्ट्रका लागि युवा अभियानले वैज्ञानिक अल्बर्ट आइन्सटाइनको जन्मदिनको अवसरमा मार्च १४ मा आफूले बनाएको रकेट सार्वजनिक गर्न लागेको उनले बताए। त्यसको उद्घाटन प्रधानमन्त्रीले गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए। दाह्री ग्याङ पनि आफूहरूले सामाजिक काम गर्नका लागि बनाएको बिष्टले बताए।

‘एकचोटीमा दाह्री काट्दा सय रुपैयाँ खर्च हुन्छ। बरू एकचोटी दाह्री नकाटौं र जोगिएको पैसाले समाजसेवा गरौं भनेर यो ग्याङ बनाएका हौं,’ उनले भने, ‘यसमा अहिले ३ हजार जति सदस्य हुनुहुन्छ।’

प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाको ट्वीटरबाट
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्