मानव साङ्लो बनाएर आज टुँडिखेल घेर्ने नेकपाको तयारी

Prachanda_Nepal_Nekapa
  • 262
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाले आज काठमाडौंको टुँडिखेललाई मानव साङ्लोले घेर्ने भएको छ। चौथो चरणको विरोध कार्यक्रम अन्तर्गत आज टुँडिखेलमा मानव साङ्लो निर्माण गरी एक घण्टा प्रदर्शन गर्न लागिएको हो।

बिहीबार अपराह्न ४ बजेदेखि ५ बजेसम्मको उक्त कार्यक्रममा करिब १० हजार कार्यकर्ताको सहभागी रहने अपेक्षा गरिएको बताइएको छ। प्रतिनिधिसभा विघटन गर्ने सरकारको प्रतिगमनकारी निर्णयको विरुद्ध नेकपाको प्रचण्ड-नेपाल पक्ष आन्दोलनमा उत्रिएको छ। प्रतिनिधिसभा विघटनपछि नेकपा राजनीतिक रूपमा विभाजित समेत भएको छ।

प्रतिनिधि सभा विघटन, महँगी, मूल्यवृद्धि आदिको विरोधमा बिहीबार दिउँसो ४ देखि ५ बजेसम्म टुँडिखेल मानव साङ्लोले घेर्न लागिएको प्रतिनिधि सभा विघटनविरुद्ध केन्द्रीय संघर्ष समितिका सदस्य सूर्य सुवेदी पथिकले जानकारी दिए। घेराउका उपत्यकाका तीन जिल्ला कमिटी र जनवर्गीय संगठनहरू सहभागी हुने उनले बताए।

जसअनुसार काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्कको आकासेपुलदेखि भद्रकाली, भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी सङ्गठनका नेता-कार्यकर्ता, मजदुरहरूलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म रहने गरी अर्को विभाजन गरिएको उनले जानकारी दिए।

नेकपाले फागुन २ गते चौथो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। जसअन्तर्गत फागुन १२ गतेसम्म सबै जिल्लामा प्रदर्शन गरिनेछ। यस्तै, भोलि वडास्तरमा विरोध प्रदर्शन, १५ गतेसम्म सार्वजनिक स्थलमा प्रतिगमनविरुद्ध हस्ताक्षर संकलन, ८ गते बृहत् अन्तरक्रिया गरिनेछ।

फागुन ९ गते महिला हिंसाविरुद्ध महिला नै सहभागी भएर विरोध प्रदर्शन, १० गते दलित मोर्चाले विरोध गर्ने र ११ गते मधेसी, आदिवासी, जनजातिले सांस्कृतिक झाँकीसहित विरोध गर्ने कार्यक्रम तय गरिएको छ। फागुन १२ मा चितवनमा र २१ गते दाङमा ठुलो सभा गर्ने भनिएको छ। जसलाई अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्