‘अविश्वासको प्रस्तावबाट बागमती प्रदेश सरकार भाग्न खोज्यो’

Bibekshil-Shajha
  • 17
    Shares
लोकपाटी न्यूज

काठमाडौं। विवेकशील साझा पार्टीले बागमती प्रदेशसभाको बैठक हठात् स्थगित गरिएकोमा पार्टीको ध्यानाकर्षण भएको जनाएको छ। बिहीबार एक विज्ञप्ति जारी गरेर उसले बागमती प्रदेश सभामा सभामुखमाथि अनावश्यक विवाद सिर्जना गरी प्रदेश सरकार मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावबाट भाग्न खोजेको आरोप लगाएको छ।

विवेकशील साझाका प्रदेश सभा सदस्य रमेश पौड्यालद्वारा जारी विज्ञप्तिमा अविश्वासको प्रस्ताव उपर विना कुनै विलम्ब छलफल गरी निष्कर्षमा पुग्नुपर्ने बताइएको छ। नेकपा विभाजनपछि प्रचण्ड-नेपाल समूहका ४५ सांसदल पुस ९ गते मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। उक्त प्रस्ताव माध १० गते प्रदेश सभामा उक्त प्रस्ताव टेबुल भएको भन्दै अविश्वासको प्रस्तावबाट नभाग्न अनुरोध समेत गरिएको छ।

विगतमा कार्य व्यवस्था परामर्श समितिको बैठक बसी उक्त समितिको सल्लाहको आधारमा सभा सञ्चालन गर्ने र कार्यसूची तय गर्ने सम्बन्धी आवश्यक निर्णयहरू हुँदै आएको थियो। तर हाल सभामुखको हठात् निर्णयद्वारा एकाबिहानै गरिएको स्थगन अस्वाभाविक भएको ठकर विवेकशील साझाले गरेको छ।

‘२०७७ पुस १० गते प्रदेश मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको र २०७७ माघ ९ गते प्रदेश सभामा प्रस्ताव टेबुल समेत भैसकेको सन्दर्भमा विना कुनै विलम्ब यो विषयमाथि छलफल गरी निष्कर्षमा पुग्नु नै प्रदेश सभाको प्राथमिक कार्यभार हुनु पर्दछ भन्ने हाम्रो ठहर छ’, पौड्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अतः सभामुखमाथि अनावश्यक दबाब सृजना गरी अविश्वासको प्रस्तावबाट भाग्न खोज्ने प्रदेश सरकारको प्रवृत्तिको हामी विरोध गर्दछौँ र लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै स्थगित प्रदेश सभा शीघ्र सुचारु गर्न जोडदार माग गर्दछौँ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्