एमिकस क्युरीको राय : संसद विघटन बदर हुनुपर्छ

Sarbochcha_Adalat
  • 6K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। एमिकस क्युरीबाट बहसमा सहभागी वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले पार्टी झगडाको सिकार संसदलाई बनाउन नपाइने राय राखेका छन्। बिहीबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा शाक्यले यस्तो राय राखेका हुन्। पार्टीभित्रको विवादलाई देखाएर संसद भंग गर्न नपाइने उनको जिकिर छ।

शाक्यले भने, ‘पार्टीभित्रको विवादमा संविधानका धारा देखाएर संसद विघटन गर्न मिल्दैन।’ पार्टीभित्रको विवाद समाधान पार्टीको विधान र नियमअनुसार गर्नुपर्ने शाक्यको सुझाव थियो। उनले पार्टीको विवाद संविधानसँग जोड्न नमिल्ने बताए।

उनले प्रधानमन्त्रीले केपी शर्मा ओलीले बदनियतपूर्वक असम्बन्धित कारण देखाएर संसद् विघटन गरेकाले प्रधानमन्त्रीको निर्णय बदर हुने अपेक्षा राखेको उनले बताए। ‘प्रधानमन्त्रीको पार्टीको जिम्मा कांग्रेसले जिम्मा लिँदैन सबै दण्डित हुनेगरी संसद् विघटन गरियो। त्यसैले यो बदर हुन्छ भन्ने मलाई लागेको छ,’ शाक्यले भने।

उनले नेपालको संविधानले कसैलाई पनि अवशिष्ट अधिकार नदिएको पनि बताए। शाक्यले नेपालको संविधानले सिमित सरकारको कल्पना गरेको बताए। उनले भने, ‘हामी लिखित संविधानमा छौं। संविधानमा अवशिष्ठ अधिकार कसैलाई दिएको छैन।’

विघटनको पक्षमा बहस गरेका सरकारी विकल र प्रधानमन्त्रीका निजी वकिलहरूले प्रधानमन्त्रीमा संसद् विघटन गर्न सक्ने अवशिष्ठ अधिकार निहित रहेको तर्क गरेका थिए। राजामा रहेको अवशिष्ठ अधिकारबाट मुलुक पहिले नै पीडित भएकाले पछिल्लो संविधानले सीमित सरकारको व्यवस्था गरेको उनको तर्क छ।

रिट निवेदकका तर्फबाट जबाफी बहस सकिएपछि गत सोमबारदेखि इजलासको सहयोगीका रुपमा नेपाल बार र सर्वोच्च अदालत बारबाट खटिएका ‘एमीकश क्यूरी’ को तर्फबाट बहस भइरहेको छ। बहस अन्तिम चरणमा पुगेकोले फागुनको मध्यसम्ममा फैसला सुनाउने इजलासको तयारी छ। शुक्रबार एमिकस क्युरीबाट बहस सकिएपछि आइतबारदेखि बहस नोट मगाएर अध्ययन र फैसला लेखनको तयारी हुनेछ।

यही माघ ४ देखि संवैधानिक इजलासमै विषयकेन्द्रित बहस शुरु गरिएको हो। रिट निवेदकका तर्फबाट बहस सकिएपछि माघ १९ देखि विपक्षीबाट बहस सुरु भएको हो। १३ रिट निवेदकका तर्फबाट ६८ जनाले बहस गरेका थिए। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्