जेष्ठ नागरिकलाई पनि कोरोनाविरूद्ध खोप दिन कांग्रेसको माग

Prakash-Sharan-Mahat
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली कांग्रेसले जेष्ठ नागरिकलाई पनि कोरोनाविरूद्ध खोप दिन सरकारसँग माग गरेको छ। कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले आज प्रेस विज्ञप्ति जारी गरेर कोरोनाविरूद्ध खोप लगाउन स्पष्ट खाकासहितको स्वेतपत्र सार्वजनिक गर्न सरकारसँग माग गरे।

खोप लगाउने विषयमा सरकार गम्‍भीर नभएको ठहरसहित कांग्रेसले सबै जनतालाई खोपको सुनिश्‍चितता दिनेगरी कार्ययोजनासहितको स्वेतपत्र सार्वजनिक गर्न भनेको हो। खोप खरिद गर्नुपर्ने खण्डमा खरिद प्रक्रिया पारदर्शी हुनुपर्ने र त्यसको विश्वसनीयताको विषयमा जनतालाई सुनिश्‍चित गर्न जरुरी रहेको महतले बताए।

उनले भने ‘खोप खरिद प्रक्रिया पारदर्शी, सुरक्षा र विश्वसनीयताको बारेमा पनि नेपाली जनतालाई सुनिश्‍चित गर्न जरुरी छ। त्यसको सुस्पष्ट खाकासहितको विस्तृत समयकालिन कार्यतालिकासहित, स्रोतसहितको कार्ययोजना सरकारले सार्वजनिक गर्नुपर्छ।’

खोप लागउने विषयमा सरकार गम्‍भीर नभएको पनि सह-महामन्त्री महतले बताए। भारतले १० लाख खोप निःशुल्क दिएको र सो खोप दिन थालिए पनि पारदर्शी कार्ययोजना आउन नसकेको महतको भनाइ छ। उनले भने ‘पछिल्लो दिनमा खोप विभिन्न संस्थाहरूले तयार गरेका छन् त्यो खोप नेपालमा खोप लगाउने विषयमा सरकार गम्‍भीर छैन। भारतले १० लाख निःशुल्क दिएको खोप दिन थालिएको भनिएको छ । तर पारदर्शी कार्ययोजना आएको छैन। सरकारले प्रस्तुत गरेको छैन।’

सबैभन्दा पहिला अग्रपंतिमा काम गर्नेलाई पहिलो प्राथमिकतामा राखेर खोप दिने कुरा ठीक भए पनि ज्येष्ठ नागरिकलाई कसरी खोप दिने भन्ने कुराको कार्ययोजना ल्याउन नसकेको उनले बताए। निःशुल्क खोप कहाँकहाँबाट आउँदै छ र रकम तिरेर ल्याउने कार्ययोजना के छ भन्ने विषयलाई सरकारले स्पष्ट पार्नुपर्ने पनि महतले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्