फेसबुकले समाचार हेर्न र सेयर गर्न रोक्यो

  • 17
    Shares
लोकपाटी न्यूज

अस्ट्रेलिया। अस्ट्रेलियामा सामाजिक सञ्जाल फेसबुकले सबै समाचारलाई आफ्नो प्लेटफर्ममा बन्द गरेको छ। अस्ट्रेलिया सरकारले फेसबुक र गुगलमा उपलब्ध हुने समाचारको पैसा तिर्नुपर्ने नियम लगाउने मिडिया कोड संसद्बाट पारित गर्ने बताइरहेको बेला फेसबुकले उक्त निर्णय गरेको हो।

फेसबुकको पछिल्लो कदमसँगै बिहीबारदेखि अस्ट्रेलियाका समाचार संस्थाको अपडेट फेसबुकमा उपलब्ध हुन छोडेको छ। अस्ट्रेलियाका फेसबुक प्रयोगकर्तामाझ अस्ट्रेलियाली समाचार संस्थाका समाचार मात्र नभएर बीबीसी, न्युयोर्क टाइम्सलगायत विश्वका अन्य प्रतिष्ठित समाचार संस्थाको समेत अपडेट बन्द गरिएको छ।

बीबीसीका अनुसार सरकारले प्रस्ताव गरेको मिडिया कोडअनुसार फेसबुक, गुगलले यहाँका पत्रकारले उत्पादन गरेको समाचार आफ्नो प्लेटफर्ममा सेयर भएबापत् निश्चित रकम तिर्नका लागि सम्बन्धित समाचार संस्थासँग सम्झौता गर्नुपर्नेछ। यदि सम्झौता सफल नभए र कानुन तोडेको पाइएमा १ करोड डलरसम्म जरिवाना हुने वा स्थानीय बजार रकमको १० प्रतिशत जरिवाना तिर्नुपर्नेछ। अस्ट्रेलियाले केही समयअघिदेखि नै ‘न्युज मिडिया बार्गेनिङ कोड’ लाई कानुनी हैसियत दिइने बताउँदै आएको थियो। उक्त कोडमा स्थानीय समाचार संस्थाले प्रकाशन गरेको समाचारलाई फेसबुक, गुगलजस्ता डिजिटल मिडियामा प्रयोग भएबापत् सम्झौता गरेर निश्चित रकम तिर्नुपर्ने व्यवस्था छ।

उक्त कानुन तल्लो सदनबाट पारितसमेत भइसकेको छ। यसअघि फेसबुकले अस्ट्रेलियाली समाचार संस्थासँग सम्झौता प्रयास गरिरहेको समाचार सार्वजनिक भएको थियो। गुगलले भने केही ठूला समाचार संस्थासँग यसबारे सहमति गरिसकेको बताइएको छ।

अस्ट्रेलियाका ट्रेजरर जोस फ्रयाडन्बर्गले फेसबुकको निर्णय गलत भएको बताएका छन् । समाचार साइट बन्द गर्ने क्रममा बिहीबार बिहान अन्य साइटसमेत बन्द भएपछि फेसबुकको आलोचना भएको थियो । ट्रेजरर फ्रयाडन्बर्गले मानसिक स्वास्थ्य, आपत्कालीन सेवासँग सम्बन्धित वेबसाइटसमेत बन्द गर्ने फेसबुकको निर्णय मिडिया कोडसँग सम्बन्धित नभएको फ्रयाडन्बर्गले बताएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्