निर्वाचन आयोगले मैले भने अनुसार काम गरिदिएन : ओली

KP sharma Oli-22
  • 4.1K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको बताएका छन्। मध्यावधि चुनावको तयारीका सम्बन्धमा प्रधानमन्त्री ओलीले निर्वाचन आयोगसँग असन्तुष्टि जनाएका हुन्। निर्वाचन आयोगले जनताले थाहा पाउने गरी समयमै निर्वाचन गर्न तयारी गर्नुपर्ने पनि उनले बताए।

‘निर्वाचन गर्नुपर्ने निकायले निर्वाचनको तयारी समयमा गर्नुपर्दछ। मैले ५ गते प्रतिनिधि सभा विघटन सिफारिस गरेर विघटन भएपछि ६ गते नै बिहान बोलाएर निर्वाचनको तयारी गर्नुस् भन्या छु,’ शुक्रबार ७१औं प्रजातन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा ओलीले भने, ‘अस्ति गएर सोधें, तयारी गरिरहेका छौं भन्नुभयो। तर कार्यक्रम प्रकाशित भएको छैन।’

उनले अघि भने, ‘के तयारी गर्दै हुनुहुन्छ ? त्यति राम्रो देखिएको छैन। आयोगको तयारी जनताले त्यति थाहा पाएजस्तो लाग्दैन। जनताले थाह पाउने गरी, समयमै निर्वाचन गराउने गरी जुट्नुपर्छ। कतिपय तत्वहरूले यो घोषणा भएको निर्वाचन निर्वाचन नै होइन भन्ने आरोप लगाएका छन् तर निर्वाचन गर्नका लागि र तोकिएकै मितिमा निर्वाचन गर्नका लागि मिति घोषणा गरिएको हो।’

उनले चुनावविरुद्ध कुनै प्रकारको षड्यन्त्र हुन नहुनेसमेत उल्लेख गरे। सहिदको बलिदानबाट प्राप्त लोकतन्त्रलाई तल पर्न नदिने उनले बताए । लोकतन्त्रमा जनता सार्वभौम सत्ता सम्पन्न हुने उनले उल्लेख गरे। ‘देशलाई आजको समयमा जनताको चेतनाले पछाडि फर्किन दिँदैन, त्यसकारण जनताको साथ लिएर अगाडि बढ्छु,’ ओलीले भने।

प्रधानमन्त्री ओलीले अग्रगामी भिजनका साथ चलेको सरकारलाई परापूर्वकालका अनुभवलाई लिएर चक्रव्युहमा पार्न खोजको बताए । ‘तर चक्रव्युह गठन गर्दागर्दै अन्तिम तयारीको केही मिनेट अघि प्रतिनिधिसभा विघटन भयो,’ प्रज्ञा भवनमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले भने, ‘पार्टी फुटाउने चक्रव्युह थियो । बहुमतको पार्टी फुटाउने, स्थिरता र स्थायित्व भत्काउने अनि अस्थिरता निम्त्याउने चक्रव्युह थियो ।’

प्रधानमन्त्री ओलीले चुनाव गराउँदा संविधान नमिचिने बताए। ‘वैशाखमा चुनाव हुन्छ, सरकार बन्छ अनि संविधान कहाँ मिचियो ?’ उनले प्रश्न गरे। उनले भने, ‘चुनाव हुँदा संविधान मिचिन्छ, लोकतन्त्र समाप्त हुन्छ भने अब डेढ वर्ष पछि त लोकतन्त्र कुनै हालतमा बाच्ने भएन नि त नेपालमा।’ प्रधानमन्त्री ओलीले चुनावले लोकतन्त्र समाप्त नहुने दाबी गरे। लोकतन्त्रविरुद्ध षड्यन्त्र हुन थाल्यो भने जनताको बिचमा जानुपर्ने उनको भनाइ छ।