बढुवा नपाएको भन्दै फेरि केपी समूहमै फर्किए तामाङ र राई

Rai_Tamang
  • 702
    Shares
लोकपाटी न्यूज

काठमाडौं। पूर्वमन्त्री शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई फेरि केपी शर्मा ओली समूहमा फर्किएका छन्। उनीहरू शनिवार मात्र नेकपा परित्याग गरेर ओली समूहमा खुलेका हुन्।

प्रतिनिधिसभा विघटनसँगै नेकपा दुई समूहमा विभाजित भएपछि सुरुमा तामाङ दम्पती ओली समूहको संसदीय दलको बैठकमा सहभागी भएका थिए। तर पछि केही दिनमै नेकपाको प्रचण्ड-माधव नेपाल पक्षमा फर्किएका थिए। उषाकला राईले आफूहरू ओली समूहमा फर्किएको पुष्टि गरिन्।

उनले पूर्वएमालेहरू मूल पार्टीमा फर्कने क्रम सुरु भएको दाबी पनि गरिन्। ‘अब धेरै साथीहरू फर्कनुहुन्छ। हामीले पनि प्रचण्ड-माधव नेपालको समूहमा बसिरहन उचित देखेनौँ,’ उनले भनिन्। उनकाअनुसार शुक्रवार झन्डै तीन घण्टा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेललगायत नेताहरूसँग शेरबहादुर दम्पतीको छलफल भएको थियो। संवादमा अरू पनि नेताहरू पनि उपस्थित थिए।

त्यसपछि दम्पती नै पुनः ओली समूहमा फर्कन राजी भएको उषाकलाले बताइन्। अरू को-को फर्कन्छन् भनेर टुंगो नभए पनि धेरै आउने तयारी गरिरहेको उनको भनाइ छ। तामाङ चुनावमा सिन्धुपाल्चोक-२ बाट निर्वाचित तामाङ नेकपाको केन्द्रीय सदस्य हुन्। पत्नी उषाकला राई प्रदेशसभा सदस्य हुन्। उनलाई ओली समूहले यसअघि केन्द्रीय सदस्य बनाएको छ।

शनिवार विराटनगरमा हुने आमसभामा प्रधानमन्त्री ओलीले तामाङ र राई आफ्नो समूहमा प्रवेश गरेको घोषणा गर्ने भएका हुन्। ‘प्रधानमन्त्रीसँग विराटनगरमा हुने कार्यक्रम सहभागी हुने कार्यक्रम रहेको थियो। तर जिल्लामै दुई वटा कार्यक्रम रहेकाले सहभागी नहुने भएको हुँ,’ तामाङले भने, ‘प्रधानमन्त्रीले विराटनगरमा आयोजना हुने आमसभामा घोषणा गर्नु हुने छ।’

उनले पूर्व एमालेहरू एक हुनुपर्ने बताएका छन्। ‘पूर्व एमालेहरू एकै स्थानमा हुनुको विकल्प छैन,’ तामाङले भने। तर यता नेकपा स्रोतका अनुसार पार्टीमा बढुवा नपाएपछि तामाङ रुष्ट बनेका थिए। तामाङले आफूलाई पार्टीको माथिल्लो कमिटीमा लैजानुपर्ने बताएका थिए। तर उनले भनेजस्तो पार्टीमा नहुने भएपछि ओली समूहको गएको स्रोतको दाबी छ। तामाङ नेकपा अध्यक्ष माधव नेपाल निकट नेता मानिन्थे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्