नेकपाको विवाद निरुपण नगरि चुनाव हुँदैन : शेखर कोइराला

Shekhar_Koirala
  • 122
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने पुनः दोहोर्याएका छन्। शनिबार बिहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले सभापतिको उम्मेदवारीबाट पछि नहट्ने पनि स्पष्ट गरेका छन्।

उनले जिल्लाका नेताकार्यकर्ता र केन्द्रका नेतासँग आफ्नो उम्मेदवारीबारे निरन्तर छलफल गरेको बताए। उनले भने, ‘सभापतिको उम्मेदवारी दिने मेरो चर्चाको कुरा मात्रै होइन। म सिरियस तरिकाले लागेको छु।’

कोइरालाले केपी ओली नेतृत्वको वर्तमान सरकारले मुलुकलाई द्वन्द्वमा धकेलेको आरोप लगाए। उनले मुलुकलाई द्वन्द्वमा जानबाट जोगाउन प्रतिनिधिसभा पुनःस्थापनामात्र एक विकल्प रहेको बताए। यद्यपि चुनावकै अवस्था आए कांग्रेस पछि नहट्ने कोइरालाले बताए। संविधान र संघीयता जोगाउने जिम्मेवारी अब सर्वोच्च अदालतको काँधमा आइपुगेको उनको भनाइ छ।

‘सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएन र वैशाखमा चुनावपनि भइदिएन भने संविधान नै बेकार हुन्छ, संघीयता खतरामा पर्छ,’ कोइरालाले भने, ‘संविधान र संघीयता जोगाउन पुनःस्थापनामात्र एक विकल्प देखिएको छ।’ सरकारले भनिरहेजस्तो वैशाखमा चुनाव हुने सम्भावना भने आफूले नदेखेको उनले बताए।

निर्वाचन आयोगमा विचाराधीन नेकपाको विवाद निरुपण नहुन्जेल चुनाव सम्भव नरहेको कोइरालाको भनाइ छ। ‘नेकपा विवाद अहिले निर्वाचन आयोगमा विचाराधीन छ, विवाद निरुपण गर्न आयोगले खासै तदारुकता देखाए जस्तो लाग्दैन,’ उनले भने, ‘विवाद निरुपण नभएसम्म चुनाव सम्भव छैन। र, दुवै पक्षको सहभागिताविना हुने चुनावको पनि कुनै अर्थ रहँदैन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्