मन्त्रीहरू आफ्नो समूहमा फर्किने भ्रम नपाल्नुस् : थापा

Ram-bdr-thapa Badal
  • 479
    Shares
लोकपाटी न्यूज

विराटनगर। गृहमन्त्री रामबहादुर थापाले सरकारको विरोधमा रहेकाहरू हिट्लर र गोयबल्सका नयाँ अवतार भएको आरोप लगाएका छन्। ओली समूहको विराटनगर सभामा गृहमन्त्री थापाले चुनावमा जाने घोषणा लोकतान्त्रिक र अग्रगामी भएको तर आफूलाई हिट्लरजस्तै बन्न रुचाउनेहरूले प्रतिगमन भनेर दुष्प्रचार गरेको बताए।

‘हामी चुनावमा जाने भनेर लागेका छौं,’ उनले भने, ‘चुनावमा जानु, ताजा जनादेशमा जानु अग्रगमन हो।’ उनले ताजा जनादेश लिएर देशमा स्थिरता कायम गर्ने बताए। थापाले प्रतिगमनलाई पुनर्स्थापना गर्न चाहनेहरूका कारण देशमा अस्थिरता निम्तिएको बताए। उनले नेकपाभित्रका पदलोलुप नेताहरूका कारण समस्या भएको टिप्पणी गरे।

उनले नेकपाभित्रका अवसरवादीहरूले फेरि प्रतिगमनलाई कसरी पुनर्स्थापना गर्ने भनेर लाग्दा यो अवस्था सिर्जना गरेको आरोप लगाए। ‘उनीहरू खुसी भएका छन्। जुन परिस्थिति बनेको छ, त्यसबाट जनता दुःखी भएका छन्। मेचीदेखि महाकालीसम्म फुटवादको विरुद्धमा छौं,’ गृहमन्त्री थापाले भने, ‘पार्टी शुद्धीकरण थालनीको नेतृत्व पनि हामीले गरेका छौँ। अस्थिरतालाई कसरी स्थायित्व गर्ने भनेर अवसरवादीहरू लागेका छन्।’

उनले केही मन्त्रीहरू आफ्नो समूहमा फर्कँदै छन् भनेर प्रचण्ड-माधव नेपाल पक्षले भ्रम फैलाइएको बताए। उनले मन्त्रीहरू फर्कने कुरा भ्रमपूर्ण रहेको दाबी गरे। गृहमन्त्री थापाले भने, ‘यो उनीहरूको आतंकको र भयको अभिव्यक्ति हो।’

उनले बाह्य नभई आन्तरिक शक्तिले नै देशलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र गरिरहेको दाबी गरे। अवसरवादी, फुटवादी र गुटवादीहरूले असामान्य परिस्थिति सिर्जना गरेको थापाको दाबी छ। देशको विकासलाई कसरी अवरुद्ध गर्ने भन्नेमा लागेका प्रतिगामीहरू अहिले उत्साहित भएको थापाको जिकिर छ।

थापाले जनता अस्थिरताको विरुद्धमा र लोकतन्त्रको रक्षाका निम्ति एकताबद्ध भएको बताए। उनले राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानका निम्ति नेपाली जनता लामबद्ध भएको बताए।