सभास्थलको पुरा दृश्य हेर्न चन्द्रमाबाट मात्र सम्भव छ : ओली

KP sharma Oli
  • 1.8K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आज गरिरहेको शक्ति प्रदर्शनमा ‘जनता जागरित भएर आएको दावी गरेका छन्। विराटनगरमा आयोजित आमसभामा प्रधानमन्त्री ओलीले लाखौं संख्यामा मानिसहरु आमसभामा उपस्थित भएको दावी गरेका हुन्। उनले सभास्थलमा मानिसहरु राख्ने ठाउँ नभएका कारण चोकचोकमा र घरघरमा टेलिभिजनबाट मानिसहरुले आफ्नो सम्बोधन सुनिरहेको दावी गरे।

सभामा उपस्थित मानिसको तस्विर ड्रोनले खिचे पनि त्यो संख्या ड्रोनले पनि खिच्न नसक्ने भएको उनको दाबी थियो। ‘ड्रोनले पनि फोटो खिचेर सक्दैन। चन्द्रमाबाट मात्रै देखिन्छ,’ ओलीले भने। उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीमा फर्किन आग्रह गरे। प्रचण्डले गलत बाटो समाएकाले उनी मूल घरमै आउनुपर्ने ओलीको भनाइ छ।

‘प्रचण्डजीको मलाई माया लागेर आउँछ। उहाँलाई पहिले वैद्यले छाड्नुभयो त्यसपछि डाक्टर रोज्नुभयो। डाक्टरले छाडेपछि उहाँले झाँक्री रोज्नुभयो अब उहाँको सफलता सम्भव छैन। म पार्टीमा फर्किन आग्रह गर्छु,’ ओलीले भने। प्रचण्ड पार्टीमा नफर्किए उनलाई रामराम भन्न सक्ने तर काँध हाल्न नसक्ने उनको भनाइ छ। राजनीतिक रूपमा सिद्धिएका प्रचण्डलाई आफूले नै स्थान दिएको उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले २/४ सिटमा समित हुने प्रचण्डलाई आफूले सिङजुरो होलिदिएपछि अहंकारी बनेको बताए। ‘२/४ सिटमा सिमत हुने प्रचण्डलाई ल्याएर फेरि एउटा जुरो हालिदिएको थिएँ। फेरि सिङ हालिदिएको थिएँ’ उनले भने, ‘लामा सिङ भएपछि उहाँमा अहंकार चढ्यो। उहाँले हामीलाई नै सिध्याउँछु भन्न थाल्नुभयो। अब उहाँको नियति असफलता बाहेक केही हुन सक्दैन।’