राईलाई आचार्यको चुनौती : प्रदेशसभा भंग गर्ने धम्की नदेऊ, सक्छौं गरेर देखाऊ

bhim-acharya-sherdhan-rai
  • 625
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा प्रदेश-१ का इञ्चार्ज भीम आचार्यले प्रदेशसभा भंग गरेर देखाउन मुख्यमन्त्री शेरधन राईलाई चुनौती दिएका छन्। काठमाडौंमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा आचार्यले मुख्यमन्त्री राईसँग प्रदेशसभा भंग गर्ने तागत नभएको बताए।

मुख्यमन्त्रीले प्रदेशसभाका सभामुख, उपसभामुख र सांसदहरुलाई धम्क्याउने र तर्साउने काम गरिराखेको उनले बताए। आचार्यले भने, ‘ल त अल्पमतमा पर्‍यौं अब तिमी छोड लोकतान्त्रिक प्रक्रियाले चल भन्दा प्रदेशसभा भंग गर्ने ? यस्तो धम्कीले कोही पनि डराउँदैन। त्यो भएमा हामी कडा प्रतिवाद गर्छौ।’

उनले अगाडि भने, ‘यदि तागत छ भने भङ्ग गरेर देखाए हुन्छ। चुनौती दिन चाहन्छु।’ आफूहरु प्रतिगमनविरोधी आन्दोलनमा रहेको उल्लेख गर्दै उनले जनताले साथ दिएकाले यसलाई घुँडा टेकाएर छोडिने दाबी गरे। आचार्यले भने, ‘हामी प्रतिगमन विरोधी आन्दोलनमा छौँ। जनताले साथ दिएका छन्। यसलाई घुँडा टेकाएर छोडिन्छ। मुलुकलाई संवैधानिक ट्रयाकमा ल्याइन्छ। साभामुख, उपसभामुख र सांसदलाई तर्साउन खोज्ने ? यो कुरा लोकतन्त्रमा चल्दैन। धम्कीले कोही डराउँदैन।’

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका आचार्यले अविश्वासको प्रस्ताव मुख्यमन्त्रीलाई सोधेर दर्ता नहुने प्रष्ट पारे। ‘लोकतान्त्रिक तवरले अविश्वासको प्रस्ताव आएको छ। संविधानले २५ प्रतिशत सांसदलाई सरकारविरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्ने अधिकार दिएको छ। त्यो दर्ता भएपछि प्रक्रियामा लानुपर्छ। प्रकियामा लगेर भोटिङ गरेर निर्णय गर्नुपर्छ। आफूसित बहुमत छ कि छैन भनेर टेस्ट गर्नुपर्छ,’ आचार्यले भने, ‘मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव हाल्न मुख्यमन्त्रीलाई सोध्नुपर्ने रे ! उसलाई सोधेर मात्र हाल्न पाइने ? यस्तो नचाहिँदो कुरा गरेर सत्ताको आडमा मान्छेलाई धम्क्याउने कुरा गलत हो।’

प्रदेश १ का सत्तापक्षीय सांसदले आफ्नै सरकारले बोलाएको प्रदेशसभा बैठक अवरुद्ध गरेको भन्दै आचार्यले आक्रोश व्यक्त गरे। अविश्वासको प्रस्ताव सडकमा टाउका गन्ने नभएर सांसदमा टाउको गन्ने प्रक्रिया भन्दै त्यसलाई अवरुद्ध गर्नु नहुनेमा जोड दिए। ‘यो सडकमा टाउका गन्ने कुरा होइन। हामीले संसदमा टाउको गनेका छौँ। संसारमै नभएको निर्लज्जता प्रदर्शन गरेर आफैले बोलाएको संसद आफैँ अवरोध गर्ने ?,’ उनले प्रश्न गर्दै भने, ‘आफै संसद चल्न नदिने ? आफै प्रक्रिया अगाडि बढ्न नदिने ? आफै बहुमत कता छ भनेर प्रक्रियामा अवरोध गर्ने ?’

आचार्यले आइतबारका लागि बोलाएको बैठक लगातार सञ्चालन हुनुपर्नेमा जोड दिँदै यसमा सभामुख, उपसभामुख र सांसदले खुट्टा कमाउनु नहुने बताए। ९३ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा ४७ सांसद आफ्नो पक्षमा देखाउनसमेत उनले मुख्यमन्त्री राईलाई चुनौती दिए। उनले अविश्वासको प्रस्ताव अगाडि बढेमा कांग्रेसले साथ दिने विश्वास व्यक्त गरे।

प्रदेश १ मा नेकपाका ६७ सांसदमध्ये सभामुख र उपसभामुखबाहेक ६५ सांसद रहेका छन्। अविश्वासको प्रस्तावको पक्षमा ३७ सांसदले हस्ताक्षर गरे पनि अहिले त्यो संख्या ४० पुगेको दाबी आचार्यको छ। प्रदेश १ मा कांग्रेसका २१, जसपाका ३, लिम्बुवान र राप्रपाका १/१ गरेर कुल ९३ जना सांसद छन्।