युवा संघका सबै कार्यकर्ता साइबर सेनापति

OLi_Yuwa_Sang
  • 18
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपाको ओली समूह निकट राष्ट्रिय युवा संघले प्रधानमन्त्री केपी ओलीको साइबर सेना बनेर खटिने निर्णय गरेको छ। सरकार र पार्टी नेतृत्वविरुद्ध सिण्डिकेट खडा गरेर थालिएको भ्रम चिर्न साइबर सेनाको युनिट निर्माण गरिने युवा संघले जनाएको छ।

शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा युवासंघका अध्यक्ष वचनवहादुर सिंहले विभिन्न मिडियामार्फत चलाइएको भ्रम चिर्न साइबर सेनाको युनिट बनाइएको बताए। उनले माघ २५ र २६ मा बसेको बैठकले साइबर सेना निर्माणको निर्णय गरेको बताए।

उनले भने, ‘सामाजिक सञ्जाललाई सही ढंगले सदुपयोग गर्नुको साटो व्यक्तिको चरित्र हत्या गर्ने काम भइरहेको छ। त्यसलाई निरुत्साहित गर्न साइबर सेना निर्माण गरिएको हो।’ आफूलाई बुद्धिमान ठान्नेहरुले सरकार र कम्युनिष्ट पार्टीबारे जनतालाई दिगभ्रमित पार्ने काम भइरहेकोले यसलाई नियन्त्रण गर्न साइबर सेना परिचालित हुने सिंहले बताए।

‘यसले हतियार बोक्ने छैनन्, तर बुद्धिको प्रयोग गर्नेछ। यसबाट आत्तिनेहरुले साइबर स्याल भनिरहेका छन्। तर, हामी विवेकपूर्ण ढंगले परिचालित हुनेछौं,’ उनले भने। आगामी चैतभित्रै ओलीको पक्षका पाँच लाख बर्दी बिनाको सेना निर्माण हुने सिंहले बताए।

युवा संघले केही कथित बौद्धिक अराजकतावादीहरुले देशमा अस्थिरता र अराजकता मच्चाउन खोजिरहेको आरोप लगाएको छ। उनीहरुका पाखण्ड भण्डाफोर गर्दै जनतालाई यथार्थ बुझाउने काम साइबर सेनाको हुने बताए।