प्रतिनिधि सभा पुनर्स्थापना भए सरकार आन्दोलनमा जान्छ : ओली

KP sharma Oli
  • 10.1K
    Shares
लोकपाटी न्यूज

विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले फैसलापछिका परिणतिहरू पनि हेरेको होला भन्दै धम्कीपूर्ण भाषाको प्रयोग गरेका छन्। सर्वोच्च अदालतप्रति लक्षित गर्दै ओलीले यसपछिका परिणतिहरू हेरेर मुलुक कता जान्छ भन्ने हेर्नुपर्ने बताए।

नेकपाको ओली समूहले शनिबार गरेको सभामा प्रधानमन्त्री ओलीले देश र जनताको विपक्षमा फैसला आए आन्दोलन गर्ने बताएका हुन्। ओलीले ‘सेटिङ-फेरिङ’ भएर प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिए। प्रतिनिधिसभा विघटन सदर गराउन ‘सेटिङ’ गरिरहेको भन्दै अरू राजनीतिक दलले आरोप लगाइरहेका बेला उनले भने संसद पुनर्स्थापनाका लागि ‘सेटिङ’ भइरहेको दाबी गरे।

‘सर्वोच्च अदालतले देशैभर भइरहेका सभालाई हेरिरहेको होला। संविधानको भावना र मर्मलाई हेरेको होला। यसपछिका परिणतिहरू, मुलुक कतातिर जान्छ भन्ने हेरेको होला,’ ओलीले भने, ‘त्यसकारण म तपाइँहरूलाई भन्न चाहन्छु। कुनै भ्रममा नपरेर, अन्योलमा नपरेर चुनावको तयारीमा जुट्नुस्।’

उनले अगाडि भने, ‘यदी कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिगडम, सेटिङ केही भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडी बढ्छ। फेरि पनि हामी त्यस्ता शक्तिहरुलाई पराजित गर्छौं। त्यसकारण तपाईंहरुलाई आत्मविश्वासका साथ, धैर्यताका साथ देश र जनता, लोकतन्त्र, सुशासन र विकासलाई मूलमन्त्र मानेर अगाडी बढ्नुस्।’

वैशाख १७ गते शुक्रबार पहिलो चरण र वैशाख २७ गते सोमबार दोस्रो चरणको चुनाव हुने ओलीले ठोकुवा गरे। प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दामाथि सर्वोच्च अदालतमा बहस सकिएको छ। मुद्दाको पेसी ११ गतेलाई तोकिएको छ भने १० गतेसम्म बहस नोट बुझाउने समय दिइएको छ। ११ गतेपछि अदालतले फैसला सुनाउनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्