उषाकला राईले प्रदेश मन्त्री पाउने भएपछि ओली समूहमा फर्किए तामाङ दम्पत्ति

Rai_Tamang
  • 4.3K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। पूर्वमन्त्री शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राई फेरि केपी शर्मा ओली समूहमा फर्किएका छन्। शनिवार मात्र नेकपा परित्याग गरेर उनीहरू ओली समूहमा फर्किएका हुन्। राई प्रदेश १ की सांसद पनि हुन्।

प्रतिनिधिसभा विघटन भएसँगै नेकपा दुई समूहमा विभाजित भएपछि सुरुमा तामाङ दम्पती ओली समूहको संसदीय दलको बैठकमा सहभागी भएका थिए। तर पछि केही दिनमै नेकपाको प्रचण्ड-माधव नेपाल पक्षमा फर्किएका थिए। अहिले फेरि आफूहरू ओली समूहमा फर्किएको राईले जानकारी दिइन्।

उनले पूर्वएमालेहरू मूल पार्टीमा फर्कने क्रम सुरु भएको दाबी पनि गरिन्। ‘अब धेरै साथीहरू फर्कनुहुन्छ। हामीले पनि प्रचण्ड-माधव नेपालको समूहमा बसिरहन उचित देखेनौं,’ राईले भनिन्। उनकाअनुसार शुक्रवार झन्डै तीन घण्टा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेललगायत नेताहरूसँग तामाङ दम्पतीको छलफल भएको थियो।

संवादमा अरू पनि नेताहरू पनि उपस्थित थिए। त्यसपछि दम्पती नै पुनः ओली समूहमा फर्कन राजी भएको राईले बताइन्। उनले अरू को-को फर्कन्छन् भनेर टुंगो नभए पनि धेरै आउने तयारी गरिरहेको दाबी गरिन्। स्रोतका अनुसार प्रधानमन्त्री लगायतका मन्त्री तथा नेताहरूसँगको छलफलमा प्रदेश १ की सांसद समेत रहेकी राईलाई मन्त्री बनाउने प्रस्ताव आएपछि उनीहरू ओली समूहमा फर्किएका हुन्।

प्रधानमन्त्री ओलीले उनलाई प्रदेश १ को मन्त्री बनाउने प्रस्ताव गरेका थिए। प्रधानमन्त्रीबाट यस्तो प्रस्ताव आएपछि तामाङ दम्पती नै ओली समूहमा फर्किन राजी भएका थिए। शेरबहादुर राई नेकपा अध्यक्ष माधव नेपाल निकटका नेता हुन्। पार्टी विभाजन भएपछि उनले पार्टीको माथिल्लो कमिटीमा आफूलाई लैजानुपर्नेमा जोड दिएका थिए। तर आफ्नो बढुवाको विषयमा पार्टीभित्र सुनुवाइ नभएपछि तामाङ रुष्ट थिए। प्रधानमन्त्री ओलीले नै मन्त्री पदको अफर पाएपछि उनीहरू ओली समूहमा फर्किएको स्रोतको दाबी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्