कविता : उहीँ तिम्रो मान्छे

  • 143
    Shares
लोकपाटी न्यूज

कवि : अच्युत दाहाल

जसरी तिमीले
छोडेर गएका थियौ
खाँदाखाँदैको आधा गाँस
गोड्दागोड्दैको आधा पाखो
रुँदारुँदैको आधा आँसु
हो त्यहीँबाट
सम्बोधन गरिरहेछु तिमीलाई।
सायद
मेरो पत्र बोकी जाने विमान
हराई जाला धमिलो आकाशमा
मलाई छोएर जाने हावाहरु
थुनिएलान् नयाँ ग्याँस च्याम्बरमा
म समुद्र नदेखेको मान्छे
त्यता कतै
बालकको हातमा
कागजको जहाज देख्यौ भने
सम्झनू
पत्र सकुशल तिम्रो हातमा पर्यो
त्यता कोही
रोइहाल्यो भने मान्छेको मायाले
सम्झनू
त्यो आँसुको केही हिस्सा मेरो हो
त्यता कतै
आकाशमा चरा नाचेको देख्यौ भने
सम्झनू
म विलकुल सन्चो छु।
जसरी
छोडेर गएका थियौ
हाँस्दाहाँस्दैको आधा मुस्कान
देख्दादेख्दैको आधा सपना
गाउँगाउँदैको आधा गीत
हो त्यहीँबाट
सम्बोधन गरिरहेछु तिमीलाई।
सायद
मेरो प्रार्थना
बोकी जाने ईश्वरहरु
आत्मघाती दंगामा पर्लान्
मैले पुज्दै गरेका ढुंगाहरु
कुनै निधारको भागीदार बन्लान्
म ईश्वर नदेखेको मान्छे
त्यता कतै
भोकाको हातमा
रोटी देखिहाल्यौ भने
सम्झनू
मेरो ईश्वर खुसी छन्
जसरी
छोडेर गएका थियौ
झोलुंगोमा निदाइरहेको बच्चा
आधा मात्र उघ्रिएको हिमाल
हिंड्दाहिंड्दैको आधा बाटो
हो त्यहीँबाट
सम्बोधन गरिरहेछु तिमीलाई।
सायद
यो आविष्कारको युगले
सात फन्को मारेर ब्रह्माण्ड
घोषणा गरिदेला रोबोटहरुको साम्राज्य
मेटाइदेला हरेक छातीबाट
पानको पात जस्तो मुटु हुनुको निशानी
म रकेट नदेखेको मान्छे
त्यता कतै धुलोमा
औंलाले
पृथ्वीको चित्र कोरिरहेको देख्यौ भने
सम्झनू

तिमीले छोडेको
उहीँ तिम्रो मान्छे
बाँकी काम गरिरहेको पाउनेछौ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्