पेट्रोलियम पदार्थमा मूल्यवृद्धि : भारतमा २४ पटक, नेपालमा तीनपटक

Nepal Oil Corporation
  • 220
    Shares
लोकपाटी न्यूज

काठमाडौं। भारतमा पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको भाउ बढेको छ। यसले गर्दा उपभोक्तालाई पुनः मूल्यवृद्धिले पिरोल्न थालेको छ। सन २०२१ सुरु भएपछिको डेढ महिनामा मात्र भारतमा पेट्रोलियम पदार्थको भाउ २४ पटक बढेको द इकोनोमिक टाइमले जानकारी दिएको छ।

फेब्रुअरी ९ यता १२ दिनमा पेट्रोल लिटरको ३.६३ र डिजल ३.८४ भारु बढेको छ। शनिबार मात्रै भारतमा पेट्रोल र डिजलको भाउ लिटरमा ४० पैसा भारु बढेको छ। शनिबार राजधानी दिल्लीमा मात्रै पेट्रोल लिटरमा ३९ र डिजलमा ३७ पैसाले बढेको छ। नयाँ मूल्य समायोजनपछि दिल्लीमा पेट्रोलको भाउ लिटरको ९०.५८ र डिजलको ८०.९७ भारु पुगेको द इकोनोमिक टाइमले जनाएको छ।

महाराष्ट्र, मध्यप्रदेश र राजस्थानलागयत धेरै शहरहरुमा पेट्रोलको खुद्रा मूल्य लिटरको १०० रुपैयाँ पुगेको छ। फरक करका दरले गर्दा प्रदेशपिच्छे इन्धनको भाउमा लिटरमा ३५ देखि ५० पैसा भारु फरक हुने गरेको छ। मुम्बइमा पेट्रोलको भाउ लिटरमा ३ रुपैयाँ बढेर १०० भारु पुगेको छ।

यस्तै डिजलको पनि भाउ ८८ बाट ९० भारु पुगेको छ। अन्य स्थानहरुमा पेट्रोलको भाउ लिटरको ९० र डिजलको ८० भारु रहेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेपछि यसको असर भारतमा पनि परेको हो।

यो साता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको भाउ बढेर प्रतिव्यारेल ६५ डलर पुगेको छ। डलरको विनियमले पनि भाउमा असर परेको बताइएको छ। इन्धन प्रशोधन कम्पनीहरुले पेट्रोलियमको भाउ अझै बढ्ने प्रक्षेपण गरेका छन्।

भारतीय बजारमा बढेको मूल्यबृद्धिको असर नेपाली बजारमा पनि देखिएको छ। त्यसैको असरका कारण गत जनवरीदेखि नेपालमा पनि तीनपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ। इण्डियन आयल नियम कर्पोरेशनले चौबीसपटक मूल्यवृद्धि गरेपछि त्यसको दवावमा नेपाल आयल निगम परेको बताइन्छ।

पछिल्लोपटक निगमले गत मंगलबार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो। निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरेको हो। मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ६७ रुपैयाँ कायम गरिएको छ।

मूल्य समायोजनपश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ८२ पैसा, डिजेलमा प्रतिलिटरर चार रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यासमा २९५ रुपैयाँ ८३ पैसा घाटा छ। अर्धमासिक रुपमा करिब ८६ करोड ७८ लाख रुपैयाँ घाटा नै रहनेछ। तर, नेपाली उपभोक्ताको चाहनालाई ध्यान दिँदै निगमले घाटा व्यवस्थापनको कोशिस गर्दै आएको छ।

सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिनेछ। मूल्य समायोजनपश्चात पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३५ रुपैयाँ २९ पैसा र डिजल प्रतिलिटर ४१ रुपैयाँ ४३ पैसाले नेपालतर्फ सस्तो रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्