काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटनको विरोधमा गरिने प्रदर्शन पार्टीको संकल्प र निर्णयले हुने बताएका छन्। सुनसरीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले जुलुस, सभा र विरोध प्रदर्शन पार्टीको संकल्प र निर्णयले हुने बताएका हुन्।
केही दिनअघि पोखरामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले नेकपाको प्रचण्ड-नेपाल समूहको जस्तो प्रदर्शन गर्न कांग्रेससँग पैसा नभएको बताएका थिए। त्यसको जवाफ दिँदै आइतबार पौडेलले भने, ‘पैसाले गर्ने हो र जुलुस, सभा र विरोध प्रदर्शन ? यसका लागि त पार्टीको संकल्प र निर्णयले पुग्छ। पैसाले जुलुस गर्नु पर्दैन।’
पौडेलले पार्टीले आह्वान गरे कार्यकर्ता स्वतःस्फूर्त सडकमा आउने बताए। ‘प्रदर्शनका लागि पार्टीले निर्णय गरेर आह्वान गरे कार्यकर्ता र जनता सडकमा स्वतःस्फूर्त आउँछन्,’ उनले भने, ‘संविधान बचाउने लडाइँमा जनता र कार्यकर्ता आफैँ आउँछन्।’ पौडेलले सर्वोच्च अदालतले संसद पुन:स्थापना गर्न लागेपछि प्रधानमन्त्री केपी शर्मा ओली आत्तिएको पनि बताए।
उनले विराटनगरमा शनिवार भएको सभामा प्रधानमन्त्री ओलीले अदालतबाट प्रतिनिधिसभा विघटनको कदम सदर नभए आन्दोलन गर्ने अभिव्यक्ति धम्की र आतेस दुवै भएको बताए। ‘प्रधानमन्त्री पदको गरिमा भुलेर अदालतबाट आफ्नो असंवैधानिक कदम सदर नभए आन्दोलन गर्छौं भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिँदै छन्,’ पौडेलले भने, ‘यो अदालतमाथि धम्की त हुँदै हो सँगसँगै अदालतले संसद पुनः स्थापना हुने भयो भनेर आत्तिएको अभिव्यक्ति पनि हो।’
उनले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुन:स्थापित भए विकृति आउँछ भन्दै दिएको अभिव्यक्तिलाई आकाशतर्फ हेरे थुकेको उपमा दिए। ‘प्रधानमन्त्री भन्दै छन्- सांसद अपहरणदेखि प्रतिनिधिसभा विघटनसम्मका विकृति निम्त्याउने ओलीले नै प्रतिनिधिसभा पुनः स्थापित भए विकृति आउँछ रे !,’ पौडेलले भने, ‘ओली आकाशतिर हेरेर थुक्दै छन्।’