नेकपा विभाजन कुनै नौलो कुरा होइन : मन्त्री अर्याल

Padma Aryal-11
  • 36
    Shares
लोकपाटी न्यूज

काठमाडौं। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले नेकपा विघटन कुनै नौलो कुरा नभई इतिहासको पुनरावृत्ति भएको बताएकी छन्। आइतबार गण्डकी र लुम्बिनी प्रदेश जोड्ने सडक कालोपत्रेको उद्घाटनमा अर्यालले यस्तो बताएकी हुन्।

‘पहिलो कुरा नेकपा फुटेको छैन। पार्टी विभाजन र एकता कुनै नौलो होइन। इतिहासको पुनरावृत्ति हो,’ मन्त्री अर्यालले भनिन्, ‘यसलाई व्यवस्थित ढंगले लैजान सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष लाग्नुभएको छ।’ अहिलेको नेकपा घटनालाई व्यवस्थापन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली प्रतिबद्ध भएर लागिरहेको मन्त्री अर्यालको भनाई थियो।

निर्वाचनमा मुलुक अगाडि बढिसकेको भन्दै उनले पार्टी औपचारिक रुपमा नफुटेको र एउटै रहेको बताइन्। उनले भनिन्, ‘प्रधानमन्त्रीले आग्रह गरिरहनुभएको छ। मुलुक निर्वाचनमा अगाडि बढिसक्यो, आउनुस मिलौं निर्वाचनमा जाऔँ, अब सडकमा होइन निर्वाचनमा तयारीमा लागौं।’

देशमा अशान्ति फैलाउन खोज्ने पार्टीलाई समेत संविधानको मूलधारमा ल्याउन सरकार लागिपरेको भन्दै उनले सिके राउतलाई ल्याइसकेको र अर्को पार्टीलाई समेत ल्याउने प्रयास भइरहेको बताइन्। यसैबीच स्याङ्जाको सिद्धार्थ राजमार्गसँग जोडिएका आधा दर्जन सडक पिच भएको मन्त्री अर्यालले दाबी गरिन्।

आईतबार वालिङ, भुम्रे, डुम्रेभञ्याङ, बानीडाँडा हुवास हुँदै लुम्बिनी प्रदेशको गुल्मी जोड्ने सडक कालोपत्रे उद्घाटन गर्दै मन्त्री अर्यालले यस्तो दाबी गरिन्।

राजमार्गसँग जोडिएका आधा दर्जन भित्री सडकहरु यो ३ वर्षमा पिच भएको उनले दाबी गरिन्। ‘हामी तथ्य, प्रमाणमा टेकेर बोल्छौं। स्याङ्जाका आधा दर्जन भित्रि सडक पिच गरिएको छ,’ उनले भने, ‘केहि हुँदैछन। विकास भएको छ। जनताले विकासको अनुभूत गरेका छन्।’

गल्याङ, चापाकोट, सडक, अर्जुनचौपारी घण्टे सडक, प्याराग्लाईडिङ स्थल स्वरेक मैदान जाने बयरघारी बगरेबजार र अर्को वालिङ डौँवालगायतका सडक पिच भएको उनको भनाई छ। आइतबार नै मन्त्री अर्यालले पेलाकोट पिडिखोला सडकको समेत कालोपत्रे शिलान्यास गरिन्।