नवनियुक्त प्रदेश प्रमुख झालाई स्वागतमा गएनन् मुख्यमन्त्री राउत

  • 122
    Shares
लोकपाटी न्यूज

जनकपुरधाम। प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झालाई स्वागतका लागि मुख्यमन्त्री लालबाबु राउत विमानस्थल नपुगेपछि विभिन्न कोणबाट चर्चा हुन थालेको छ। कतिपयले प्रदेश सरकारको यो कदमलाई आलोचना गरिरहेका छन् कतिपयले प्रदेश सरकारको यो कदमको स्वागत गरिरहेका छन्।

तर प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जनकपुरधाममा कुनै मन्त्री उपलब्ध नरहेका कारण राज्यमन्त्री स्वागतका लागि पुगेको स्पष्ट पारेका छन्। उनले मुख्यमन्त्री तथा मन्त्रीहरु र आफू जनकपुरधाममा नरहेकोले स्वागतका लागि पुग्न नसकेको प्रतिक्रिया दिए। प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रीहरु एक कार्यक्रममा सहभागी हुन वीरगंज पुगेका थिए।

नवनियुक्त प्रदेश प्रमुख झाको नियुक्तिलाई लिएर प्रदेश सरकारले आलोचना गरिरहेको छ नि भन्ने प्रश्नमा मन्त्री यादवले प्रदेश सरकार उनको पछिल्लो मधेश विरोधी तथा संघीयता विरोधी गतिविधिलाई कडा आलोचना गर्दै आइरहेको स्वीकार गर्दै भविश्यमा पनि यस्तै गतिविधि रहे सोहीअनुरुप आफूहरुले रणनीति बनाउने बताए।

उनले भने ‘मधेशलाई गाली गर्ने तथा संघीयताको विरोध गर्नेलाई पछिल्लो समय प्रधानमन्त्री ओलीले पुरस्कृत गरिरहेका छन्, नवनियुक्त प्रदेश प्रमुखलाई समेत सोही क्रममा पुरस्कार स्वरुप नियुक्त गरिएको हुनसक्छ।’ नियुक्ति जसरी गरिए पनि नवनियुक्त प्रदेश प्रमुखको कार्यशैली साकारात्मक रह्यो भने समर्थन जनाउने नभए सोही अनुरुप हामी पनि अगाडि कदम उठाउन बाध्य हुने मन्त्री यादवले बताए। प्रदेश प्रमुखको पद सेरोमोनियल रहेकोले प्रदेश सरकारको काममा कुनै किसिमको बाधा नपुग्ने उनको विश्वास छ।