अप्रील १६ मा प्रवासी नेपाली एकता मञ्च कतारको रक्तदान

153180578_440655520692921_4666890959593165035_n
  • 14
    Shares
लोकपाटी न्यूज

महेश दाहाल दोहा। प्रवासी नेपाली एकता मञ्च कतारको अध्यक्षमा रामहरि गैरे मनोनित भएसँगै मञ्चलाई सामाजिक कार्यमा अगाडि बढाउने योजनास्वरुप आगामी अप्रील १६ तारिक प्रवासी नेपाली एकता मञ्च कतारको आयोजनामा रक्तदान कार्यकम गर्ने भएको छ।

हमद मेडिकल कर्पोरेसन ब्लड डोनर सेन्टरमा रक्तदान गर्ने कार्यक्रम तय भएको अध्यक्ष रामहरि गैरेले बताएका छन्। साथै उनले कतारमा विभिन्न पेशा व्यवसायमा आवद्ध भएर रहेका सम्पूर्ण नेपालीहरुलाई उक्त दिन ब्लड डोनर सेन्टरमा उपस्थित भएर रक्तदान गर्न अपील पनि गरेका छन्।

मञ्चका पूर्वअध्यक्ष चानक पोखरेलले संगठनको विधानअनुरुप काम नगरेको ठहर गर्दै बहुमत सदस्यको निर्णयमा पोखरेललाई पदमुक्त गरी गैरेलाई अध्यक्षको जिम्मेवारीमा मनोनित गरेको थियो। गैरेको आगमनसँगै मञ्चले सामाजिक क्षेत्रमा धेरै कामहरु गर्ने अपेक्षा मञ्चका शुभेच्छुकहरुले लिएका छन्।

विश्वको सबैभन्दा प्रभावकारी स्वास्थ्य सुविधा उपलब्ध गराउन सफल भएकोले कतारमा पछिल्लो समय उपचार गराउन आउने मान्छेहरुको संख्या बढ्न थालेको छ। अहिले केही नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरु पनि यहिँ उपचाररत छन्।

साथै कतारले यसै वर्ष महत्वपूर्ण फुटलब खेलहरुको आयोजना गर्दै अर्को वर्ष अर्थात् सन् २०२२ मा फिफा विश्वकप पनि यहिँ सम्पन्न गर्ने भएकोले रक्तदान कार्यक्रम प्रभावकारी हुने भएकाले आफूहरु यो कार्यक्रममा सकेसम्म धेरै सहभागी गराउने गरी लागि परेको मञ्चका सचिव मोहन कार्कीले बताएका छन्।

कार्यक्रमलाई भव्य ढङ्गले सफल बनाउन मञ्चले अध्यक्ष रामहरि गैरे सचिव मोहन कार्की लगायत सदस्यहरु राजु डुम्रे, नन्द ढुंगाना, अमित गौतम र पुष्पराज लम्सालसहितको सहजीकरण टिम बनाएर प्रचारप्रसार सुरु गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्