प्रतिबन्ध फुकुवाको तयारी : ओली–विप्लवबिच ‘वान टु वान’ वार्ता !

KP-Sharma-Oli-Biplab
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं। सरकारका एक मन्त्री र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीबीच काठमाडौंमा वार्ता भएको छ। उच्च स्रोतका अनुसार आइतबार काठमाडौंको एक स्थानमा नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र विप्लव समूहका नेता चिरन पुनबिच वार्ता भएको हो। सरकारले भने वार्ताबारे केही बताएको छैन।

आइतबारको वार्ता सकारात्मक भएको भनिएको छ। वार्तामा विप्लव समूहका तर्फबाट प्रतिबन्ध हटाउनुपर्ने, पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्नुपर्ने र आफ्ना नेता कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने सर्त राखिएको छ।

सरकारका तर्फबाट भने शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता मागिएकोमा त्यसमा विप्लव समूह सकारात्मक भएको छ। त्यसपछि मन्त्री ज्ञवालीले मन्त्रीपरिषद् बैठकबाट प्रतिबन्ध हटाउने आश्वासन दिएका छन्। सरकारले विध्वंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै सो समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो।

‘सरकार र विप्लव समूहका नेताहरूबिच काठमाडौंमा नै अनौपचारिक वार्ता भएको छ, वार्ता सकारात्मक छ, सम्भवतः सोमबार बस्ने मन्त्रीपरिषद् बैठकबाट विप्लव समूहमाथि सरकारले राजनीतिक रूपमा लगाएको प्रतिबन्ध हटाउन सक्छ,’ उच्च स्रोतले भन्यो।

सरकारले प्रतिबन्ध हटाएपछि वार्ताको थप वातावरण बन्ने अपेक्षा विप्लव समूहको छ। प्रतिबन्ध हटेलगत्तै सरकारले वार्ताका लागि समिति बनाउने छ। यसै गरी विभिन्न समयमा पक्राउ गरिएका विप्लव समूहका नेता कार्यकर्तालाई समेत सरकारले छाड्न थाल्नेछ।

उच्च स्रोतका अनुसार विप्लव समूहसँग वार्ताका लागि सरकार तर्फबाट मन्त्री ज्ञवालीसहित, अर्थ मन्त्री विष्णु पौडेल, खानेपानीमन्त्री मणि थापा र अर्का मन्त्री लेखराज भट्ट आ–आफ्नै तर्फबाट प्रयास गरिरहेका छन्।

सरकारले प्रतिबन्ध हटाउने र वार्ताको औपचारिक थालनीका लागि समिति बनाएसँगै हुने सम्वादपछि प्रधानमन्त्री केपी ओली आफैंले विप्लवसँग ‘वान टु वान’ वार्ता गर्ने स्रोतले भनेको छ।

‘अहिले अनौपचारिक वार्ता भइरहेको छ, सरकारले प्रतिबन्ध हटाएपछि औपचारिक वार्ता हुन्छ, समिति बन्छ, त्यसपछि वार्ता टोलीले वार्ताको निचोड निकाल्छ र प्रधानमन्त्रीले नै विप्लवसँगै वान टु वान वार्ता गर्नु हुन्छ।’ स्रोत भन्छ।

विप्लव समूहले पहिले नै खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा वार्ता टोली बनाएको थियो। सो वार्ता टोलीमा धर्मेन्द्र बास्तोला र नेता पुनसमेत छन्। बास्तोला भने प्रहरी हिरासतमा छन्। सरकारले उनलाई केही दिनभित्रै छाड्ने तयारी गरेको छ।

नेकपाका महासचिव विप्लवले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै वार्ता र संवादका लागि सकारात्मक रहेको सन्देश दिएका थिए भने शनिबार नै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले समेत विराटनगरमा आयोजित सभामा विप्लव समूहलाई राजनीतिको मूलधारमा ल्याउन सरकार तयार रहेको बताएका थिए।

यसअघि खानेपानीमन्त्री थापाले गत २० माघमा नख्खु कारागारमा थुनामा रहेका विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई कारागारमा नै पुगेर भेट गरी वार्ताको सन्देश दिएका थिए।

एकीकृत जनक्रान्तिको सिद्धान्तलाई आफ्नो कार्यदिशा बनाएको विप्लव नेतृत्वको नेकपा पछिल्लो समय रक्षात्मक बन्दै गएपछि वार्ताको नीति अख्तियार गर्न थालेको बताइएको छ। यद्यपि, वार्तालाई सरकारले राजनीतिक हतियारका रुपमा प्रयोग गर्नसक्ने भन्दै विद्रोही नेकपा सशंकित छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्