काठमाडौं। सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ताका लागि गृहकार्य अघि बढाएको जनाएको छ। भूमिगत राजनीति गरिरहेको विप्लव नेतृत्वको नेकपाले सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक प्रतिक्रिया जनाएसँगै गृहकार्य तीव्र बनाइएको छ। समुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्नु पर्ने सर्त उसले वार्ताका अगाडि सारेको छ।
आफ्ना राजनीतिक क्रियाकलापमाथि लगाइएको प्रतिबन्ध फुकुवाका शर्त बनाएको छ। सरकारसँग अचानक वार्तामा आउन चाहेको नेकपा विप्लवले एकपछि अर्को आश्चर्यचकित पार्ने कदमहरू चाल्ने संकेत दिइरहेको छ। ओली सरकारले कठोर नीति लिए पनि विप्लव वार्ताका लागि तयार हुनुमा कुनै खास राजनीतिक प्रस्तावले पनि काम गरेको स्रोतको दाबी छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षबाट खटाएका नेताहरुमार्तफ ‘नेकपा विप्लव’लाई मूल पार्टी नेकपाको महासचिव बनाउने प्रस्ताव गरेको बुझिएको छ। ओलीले आफ्ना निकटका नेताहरूमार्फत विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने, नेकपाको महासचिव बनाउने र सरकारमा सामेल गराउने विषयमा प्रस्ताव लगेको स्रोतले बताएको छ।
उनी ओली समूहको नेकपासँग एकीकरण गर्न आएमा महासचिव बनाउने प्रस्ताव पुगेको हो। विप्लवलाई सरकारमा उपप्रधानमन्त्रीसहित महत्त्वपूर्ण मन्त्रालयको समेत प्रस्ताव पुगेको छ। त्यसबारे विप्लव पक्षबाट भने कुनै जवाफ आएको छैन। तर विप्लव भने वार्ताका लागि सकारात्मक भए पनि सत्तारुढ दलमै समाहित हुने पक्षमा सहमत भएका छैनन्।
उनी वार्ताका लागि सरकारले आफ्नो दलमाथि लगाएको प्रतिबन्ध हटाउनु पर्ने, नेता कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरिनु पर्ने र जेलमा रहेका नेताहरूलाई छाडेर सरकारले वार्ताका लागि औपचारिक पहल गरेको देखाउनु पर्ने बताइरहेका छन्। त्यसतर्फ सरकारी पक्षसमेत तयार देखिएको छ। शनिवार विराटनगरमा आयोजित ओली समूहको सभामा बोल्ने शीर्ष वक्ताले समेत विप्लव समूहलाई नेकपाको मूलधारमा ल्याउन प्रयत्न भइरहेको आशय व्यक्त गरेका थिए।
जनयुद्ध लड्दाका तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट दूरी राखेर विप्लव ओलीसँग नजिकिनुलाई चासोका साथ हेरिएको छ। विप्लव शासकीय स्वरूप समेत फेर्नुपर्ने पक्षमा छन्। ओलीको पछिल्लो भूमिका त्यसैतर्फ हुने संकेतहरु मिल्न थालेको छ। यसै गरी, ८ फागुनमा अकस्मात् प्रेस विज्ञप्ति जारी गरी सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको बताएर धेरैलाई आश्चर्यचकित पारेका थिए।
विप्लव संवादका लागि सकारात्मक भएको विज्ञप्ति आउनु अघि उनी नेतृत्वको नेकपाले तीन कम्युनिस्ट घटकसँग २९ माघमा रणनीतिक मोर्चा गठन गरी घोषणा गरिसकेको छ। मोर्चामा मोहन वैद्य किरण, ऋषि कट्टेल र आहुति नेतृत्वको कम्युनिस्ट पार्टी छन्। २० माघमा खानेपानी मन्त्री मणि थापाले नख्खु कारागार पुगी विप्लव पक्षका नेता हेमन्त प्रकाश ओलीलाई भेटेका थिए। सुदर्शन भनिने ओलीसँगको भेट वार्ताको वातावरण बनाउने उद्देश्यले थियो। यो भेटले पनि वार्ताको माहौल तयार गर्न भूमिका खेल्यो।