सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दबाब दिँदैन : पोखरेल

Ishwor_Pokhrel
  • 18
    Shares
लोकपाटी न्यूज

चितवन। उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताएका छन्। भरतपुर विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै उनले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको बताए।

प्रतिनिधिसभा निर्वाचन निर्धारित समयमा नै हुने र यसमा आशंका गर्नुपर्ने कुनै कुरा नरहेको उनले जिकिर गरे। ‘निर्वाचन हुन्छ कि हुँदैन भनेर आशंका गर्नुपर्ने कामै छैन, बिलकुल हुन्छ। निर्धारित समयमा नै हुन्छ,’ उनले थपे, ‘लोकतन्त्रमा विश्वास गर्ने, जनताको ताजा जनादेशबाट अगाडि बढ्न चाहने हरकोही यसका विपक्षमा उभिनुपर्ने आवश्यकता छैन। राजनीतिक दलहरू निर्वाचनमा जाने कुरा, जनताबाट अनुमोदित हुने कुरा त नमान्ने कुरै भएन।’

पोखरेलले अहिले जसले जे भने पनि समय आएपछि सबै निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे। अर्को प्रसंगमा पोखरेलले पार्टी एकताका समयमा भएको प्रबन्धका आधारमा आयोगले पार्टीको आधिकारिकता टुंगो लगाउने विश्वास व्यक्त गरे।

प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतबाट टुंगो लाग्ने जनाउँदै उनले फैसलाको प्रतीक्षा गर्नुपर्ने बताए। सरकारले आयोग र सर्वोच्च अदालतलाई कुनै किसिमको दबाब नदिने उनले बताए। उनले भने, ‘सरकारले कुनै दबाब दिँदैन। विधिसम्मत ढंगले काम अघि बढाउँछ।’ -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्