सर्वोच्चले प्रतिनिधि सभा विघटनलाई सच्याउनु पर्छ : रघुजी पन्त

Raghuji_Panta
  • 55
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा का स्थायी कमिटी सदस्य रघुजी पन्तले संसद विघटनको कदम सर्वोच्च अदालतबाट सच्चिनुपर्ने बताएका छन्। नेपाल दलित मुक्ति संगठनले प्रतिनिधिसभा विघटनको विरोधमा सोमबार काठमाडौंमा आयोजना गरेको विरोध र्‍यालीमा नेता पन्तले असंवैधानिक रुपमा भएको संसद विघटन सर्वोच्च अदालतको फैसलाद्धारा सच्चिन सम्भव भएको बताएका हुन्।

सर्वोच्च अदालतले कसैको जुलुस हेरेर नभई नेपालको संविधान हेरेर फैसला गरी संसद पुनस्थापना गर्नेमा विश्‍वास रहेको पन्तले बताए। जनतालाई जागरुक बनाउन र संसद पुनस्थापनाको पक्षमा जनमत बनाउन निरन्तर विरोध प्रदर्शन भइरहेको र सर्वोच्चको फैसला नआउन्‍जेलसम्मलाई विरोधको कार्यक्रम जारी रहने पनि पन्तले बताए।

नेपाल दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समितिका संयोजक दलजित श्रीपाइलीले संसद विघटन गरी प्रधानमन्त्री ओलीले देशमा अस्थिरता पैदा गरेको बताए। संविधान, गणतन्त्र, संघीयता, धर्म निरपेक्षतामाथि कू भएको भन्दै संयोजक श्रीपाइलीले संविधानमा भएका दलितका अधिकारसमेत खोसिएको अनुभुति भएकाले संसद पुर्नस्थापनाको पक्षमा आन्दोलन गर्नुपरेको बताए।

प्रदर्शनकारीहरुले दलित भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको संवैधानिक हक सुनिश्चित गरौं, समानुपातिक समावेशीकरण तथा धर्म निरपेक्षताको रक्षा गरौँ, सामाजिक न्याय सहितको समृद्धिको आधार निर्माण गरौं, प्रतिनिधि सभाको पुर्नस्थापना गरी संविधानको रक्षा गरौं लगायतका प्लेकार्डको प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्