‘कस्तो अचम्‍म, संविधानलाई शीरोधार्य गर्नेहरु नै संविधान समाप्त पार्न लागिपरेका छन् !’

Upendra Yadav
  • 101
    Shares
लोकपाटी न्यूज

जनकपुर। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टि हुँदाहुँदै पनि संविधानको प्रतिरक्षा गर्नु परेको बताएका छन्। संविधानप्रति व्यापक असन्तुष्टि भए पनि यही संविधानले संघीयता, गणतन्त्र, समावेशीता, समानुपातिकता तथा धर्मनिरपेक्षता लगायतका उपलब्धि दिएकाले यसको प्रतिरक्षामा उत्रिनु परेको उनले बताए।

सोमबार जनकपुरधाममा आफैँ लेखेको समाजवादी लोकतन्त्र पुस्तकको उर्दु संस्करणको विमोचन कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष यादवले भने, ‘हिजोको दिनसम्म हामीले संविधान खारेज गर माग गर्दै आएका थियौं, तर आज हेर्नुस संविधानलाई शीरोधार्य गर्नेहरु नै दलीय स्वार्थमा समाप्त पार्न लागेका छन्।’

विश्वकै उत्कृष्ठ संविधान भनेर नथाक्ने प्रधानमन्त्री ओलीले नै संविधान समाप्त पार्न लागेको उनको आरोप छ। ‘प्रधानमन्त्री ओली यो संविधानलाई विश्वकै उत्कृष्ट संविधान भन्दा भन्दै थाक्दैन थिए। आज उनी सो संविधान नै समाप्त पार्न उद्वत छन्,’ उनले भने, ‘हाम्रो संविधानमा असहमित थियो तर, सो संविधानबाट प्राप्त उपलब्धि रक्षाका लागि संविधानको रक्षाका गर्नुपर्ने भएकोले आन्दोलन गर्न बाध्य भएका छौँ।’

केपी ओली नेतृत्वको सरकार संघीय प्रणाली समाप्त पार्ने षड्यन्त्रमा लागेको आरोप लगाउँदै उनले संघीय प्रणाली साझेदारीको प्रणाली भएकाले यसलाई संरक्षण गर्न सबैको दायित्व भएको बताए। ‘संघीय प्रणाली विश्वकै उत्कृष्ट प्रणाली हो। यस संविधानले संघीयता, जनताको सार्वभौमसत्ता, धर्मनिरपेक्षता तथा मौलिक हकहरुको ग्यारेन्टी गरेको छ। यसै संविधानलाई टेकेर हामी संशोधन मार्फत बाँकी अधिकार प्राप्त गर्न चाहन्छौं,’ यादवले भने।

यादवले संविधानका केही बुँदामा अधिकारहरु छुटेको र त्यसलाई संसोधन गरी समावेश गर्न आन्दोलन जारी राख्नुपर्ने बताए। ‘ओलीले प्रतिनिधिसभा विघटन गरिसकेका छन्, अब निर्वाचन नगराई देशमा राजनीतिक अस्थिरता बढाउने र निरंकुश प्रणाली जारी राख्ने उनको योजना छ,’ उनले भने।