किसानलाई सम्मान गर्ने संस्कृति बसालौं : मन्त्री अर्याल

Padma Aryal-11
  • 9
    Shares
लोकपाटी न्यूज

स्याङ्जा, १० फागुन। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताएकी छिन्। गृहजिल्ला स्याङ्जाको गल्याङस्थित सार्वजानिक माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालयको साझेदारीमा आज (सोमबार) व्यवसायिक उत्पादन शुभारम्भ गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।

विगतमा काम गरिनेखाने वर्गलाई हेलाहोचो गर्ने संस्कार परिर्वतन हुदै आएको भन्दै उनले तर अहिले ती गलत कुराहरु परिवर्तन हुदै किसानलाई सम्मान गर्ने संस्कारको विकास हुँदै गएको बताइन्। किसानलाई सम्मान गर्ने संस्कृतिको विकास भएको बताउँदै मन्त्री अर्यालले भनिन्, ‘कृषि कर्म गर्नेलाई होच्याउने होइन हामीले सलाम गर्नुपर्छ। हिजोको सामन्तवादी सोँचलाई परिर्वतन गर्नुपर्छ।’

कृषिकै माध्यमबाट देशलाई समृद्ध बनाउन सकिने भन्दै उनले कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायीकरणका लागि सरकार विशेष कार्यक्रमका साथ अगाडि बढेको बताइन्। काम नगर्नेलाई ज्यूहजुर गर्ने र काम गर्नेलाई हेला गर्ने होच्याउने संस्कार सामान्तवादी संस्कार भएको भन्दै मन्त्री अर्यालले हिजोका ती गलत संस्कार परिर्वतन भएको बताइन्।

कृषकलाई व्यवसायिकरणमा आकर्षित गर्न राज्यले विभिन्न कार्यक्रमहरु ल्याउने उनले बताइन्। ‘कृषि मन्त्रालयले कृषि तथा पशुको विकासका लागि विभिन्न अनुदान र सहुलियतका कार्यक्रमहरु ल्याएको छ। कृषकको खेतबारीमै सरकार जोडिनेछ’, मन्त्री अर्यालले भनिन्।

माटो र हावापनी सुहाउँदो कृषि प्रणालीलाई अबलम्बन गर्नुपर्ने भन्दै उनले कृषिमा प्रविधिको अधिकतम उपयोग गरी कृषि क्रान्ति गर्ने बताइन्। नयाँ सोच र प्रविधिका साथ सरकार अगाडि बढेको भन्दै स्याङ्जा जिल्लामा कृषिको विकासका लागि प्रतिवद्धता व्यक्त गरिन्। ‘एक पालिका एक उत्पादन’का साथ जिल्लालाई कृषिका माध्यमबाट समृद्ध बनाइनेसमेत उनको भनाइ थियो।

स्याङ्जामा सुन्तला र कफीको जोन बनाउने कार्य कार्यान्वयन भइरहेको भन्दै अन्य फलफुल तथा तरकारीको जोन बनाइने बताइन्।

त्यस क्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमअन्र्तगत मन्त्री अर्यालले १० लाख रुपैयाँको चेक विद्यालयलाई हस्तान्तरण गरेकी थिइन्। त्यस्तै छात्राहरुका लागि मन्त्री अर्यालले सेनिटरी प्याड बनाउने मेशिन र पिउने पानीका लागी युरोगार्ड हस्तान्तरण गरेकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्