स्याङ्जा, १० फागुन। कृषि तथा पशुपंक्षी विकास मन्त्री अर्यालले ओली सरकारले गरेको विकासको गति आफ्नै गाउँठाउँमा हेर्नुपर्ने बताएकी छिन्। ओली सरकारले केही गरेन भन्नेहरुलाई लक्षित गर्दै मन्त्री अर्यालले सोमबार (आज) गृहजिल्ला स्याङ्जामा त्यस्तो बताएकी हुन्।
स्याङ्जा र पाल्पा जोड्ने मोटरेबल पुलको शिलान्यास गर्दै मन्त्री अर्यालले विकास हेर्न टाढा जानु नपर्ने बताइन्। मन्त्री अर्यालले भनिन्, ‘यो ३ वर्षमा विकास कति भयो आँफै उभिएको ठाउँमा हेर्नुस्। नेपालका ७५३ स्थानीय तहहरुमा विकासको गति विगतभन्दा तिब्र अगाडि छ।’ दिनलाई रात बनाउन दुस्साहस गर्नेहरुले सरकारले गरेका विकासको गति हेर्न सक्नुपर्ने उनको तर्क छ।
‘हरेक पालिकामा बृहत् खानेपानी योजना सुरु भएका छन्। यही सरकारको कार्यकालमा देशका ३९६ स्वास्थ्य केन्द्रहरुको शिलन्यास भएका छन्, तीमध्ये केही सकिए केही निर्माणाधिन छन्’, उनले भनिन्। सहज स्वस्थ्य सेवा जनताको पहुँचमा पुर्याउन होस् वा स्वच्छ पिउने पानी घर–घरमा पुर्याउन सरकार जनतासँग प्रत्यक्ष जोडिएको मन्त्री अर्यालको भनाइ छ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका र पाल्पाको बगनासकाली गाउँपालिका दपुर जोड्ने कालीगण्डकी नदी मोटरेबल पुलको उनले शिलन्यास गरेकी छिन्। २०७७ भदौ १ गते सम्झौता गरिएको मोटरेबल पुल सम्झौताको ३३ महिनामा सक्नुपर्ने समयसीमा रहेको छ। गौरी पार्वती न्यू टेक्निकल जेभि कुपनडोलले निर्माणले जिम्मा लिएको पुल पिएस र भ्याटसहित १५ करोड ३९ लाख २८ हजार ६७९ रुपैँया ५० पैसामा सम्झौता भएको हो।
१.७५ दयाँबायाँ फुटपाथ रहने पुल ११ मिटरको चौडाइ रहने छ। १२० मिटर लम्बाइको पुल २ स्पान रहने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख भिमअर्जुन कंडेलले जानकारी दिए। ओपन फाउण्डेसनमा बन्ने पुल योजना पश्चिम क्षेत्र सेक्टर नं. ४ पाल्पाले हेर्नेछ।