कोपाइलटलाई तुरुन्त कमान्डर पाइलट बनाउन माग

Nepal Airlines
  • 5
    Shares
लोकपाटी न्यूज

काठमाडाैँ। नेपाल वायुसेवा निगम कर्मचारी संघले ‘वाइड बडी’ जहाज ‘ए३३०-२००’ मा आवशयक मापदण्ड पूरा गरेका कोपाइलटहरूलाई तुरुन्त कमान्डर पाइलट बनाउने व्यवस्था मिलाउन माग गरेको छ। संघले निगमका महाप्रबन्धकलाई सम्बोधन गरी ‘गम्भीर ध्यानाकर्षणपत्र’ दिँदै योसहित पाँच बुँदे माग गरेको हो।

‘सबै आवश्यक मापदण्ड पूरा गरेका ए३३० का कोपाइलटहरूलाई कमान्डर पाइलट बनाउन व्यवस्थापनले आजसम्म केही पनि कदम चालेको छैन,’ संघका अध्यक्ष मानबहादुर कुँवरले हस्ताक्षर गरेको ध्यानाकर्षणपत्रमा छ, ‘यही कारण भविष्यमा निगमका ए३३० जहाजका लागि कमान्डर पाइलट अभाव हुने निश्चित छ। त्यसैले मापदण्ड पूरा गरेका सबै कोपाइलटलाई कमान्डर पाइलट बनाउन आवश्यक तालिमको उचित व्यवस्था गर्न व्यवस्थापनसँग माग गर्दछौं।’

त्यसैगरी निगम कर्मचारी विनियमावलीविपरीत ‘एमए–६०’ र ‘वाई१२–ई’ सिरिजका जहाज उडाउने पाइलटहरूले खाइपाइ आएको सुविधा कटौती निर्णय खारेज हुनुपर्ने, गत साउन १५ देखि उनीहरूको भत्ता कटौती गरी असुलउपर गर्ने निर्णय खारेज हुनुपर्ने माग संघको छ।

‘निगम व्यवस्थापनले कर्मचारीलाई काम पनि दिन नसक्ने र सुविधा पनि असुलउपर तथा कटौती गर्ने निर्णयले आमकर्मचारी निराश छन्,’ ध्यानाकर्षणपत्रमा उल्लेख छ, ‘यही गति जारी रहे भविष्यमा पाइलटजस्ता दक्ष जनशक्ति निगमबाट लोप भएर जाने निश्चित छ।’ संघको ध्यानाकर्षपत्रमा निगमको अपरेसन विभागमा कार्यरत उपनिर्देशक तहका कर्मचारीलाई राजनीतिक प्रतिशोधको भावना खारी अनुवभी कर्मचारीलाई सरुवा गरिएको उल्लेख छ।

त्यस्तै अपरेसन विभागमा १०औं तहका निर्देशक हुँदाहुँदै कनिष्ठ कर्मचारीलाई पदीय जिम्मेवारी दिँदा एउटै विभागमा दुईजनालाई दोहोरो सुविधा प्रदान गरिएका कारण संस्थालाई आर्थिक क्षति पुगेको र कर्मचारीको मनोबल गिराउने काम वर्तमान व्यवस्थापनले गरेको आरोप संघले लगाएको छ।

त्यसैगरी एमए–६० र वाई१२–ई जहाजको उचित व्यवस्थापन गर्न नसकेका कारण दैनिक करोडौंको घाटा बेहोरिरहेकाले यथाशीघ्र ती जहाजको उचित व्यवस्थापन गर्न संघले माग गरेको छ। त्यसबाहेक विदेशस्थित स्टेसनमा दरबन्दी कटौती गर्ने र ग्राउन्ड ह्यान्डलिङ एजेन्टमार्फत अनुचित लाभ लिई नयाँ किसिमको सम्झौता गरी संस्थालाई आर्थिक नोक्सान पु¥याउने काममा वर्तमान व्यवस्थापन नेतृत्व लागिपरेको ठहर संघले गरेको छ।