मिश्रलाई संग्रौलाको प्रश्न : कत्रो फूर्ति, आउँदो चुनावमा एक सिट जित्छौं ?

Khagendra Sangraula and Rabindra Misra
  • 2.2K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले आफू सरकारमा पुग्नासाथ प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई जेल हाल्ने भनी दिएको अभिव्यक्तिको लेखक एवं विश्लेषक खगेन्द्र संग्रौलाले आलोचना गरेका छन्।

संग्रौलाले मिश्रलाई आफ्नो हैसियतभन्दा ठूलो कुरा गरेको नसुहाउनेसमेत सुझाव दिएका छन्। ट्वीटरमा ट्वीट गर्दै संग्रौलाले केपी, प्रचण्ड, देउवा जेल पुगुन् कि नपुगुन्, त्यो आफ्नो चासोको विषय नभएको तर एक सिट पनि नजित्ने पार्टीले सिंहको जस्तो धाक दिएको भन्दै आलोचना गरेका हुन्।

संग्रौलाले लेखेका छन् – ‘‘विवेकशील साझाका अभिनेता रवीन्द्र मिश्रले आफू सरकारमा पुग्नासाथ केपी, पीके र देउवालाई जेल पुर्‍याउने चेतावनी दिएछन्। पुगुन् र पुर्‍याउन्, यसमा मलाई न हर्ष न बिस्मात। मेरो सानो जिज्ञासा, अबको आम चुनावमा श्री मिश्रको पार्टीले प्रत्यक्षमा एक सिट त जित्ला ? हुती मुसाको, हुङ्कार सिङ्गको !’’

मिश्रले सोमबार आफ्नो पार्टी सरकारको नेतृत्वमा पुग्नासाथ अहिलेका प्रमुख पार्टीका नेतृत्वहरुलाई जेलमा पुर्‍याउने चेतावनी दिएका थिए। काठमाडौँमा प्रतिनिधि सभा विघटनविरुद्धको विरोध सभालाई सम्बोधन गर्दै मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई नख्खु जेलमा पुर्‍याउने चेतावनी दिएका हुन्।

Khagendra Tweet

‘सम्भवत प्रधानमन्त्री केपी ओलीलाई बालुवाटार बस्ने अधिकार छैन बालकोट फर्कनुपर्छ। प्रमुख प्रतिपक्षी दलका नेतालाई लागेको होला अदालतले मनले चाहेअनुसारको फैसला दिन्छ चुनाव हुन्छ, केपी ओली अत्यन्त अलोकप्रिय छन्, मेरो पार्टीले चुनाव जित्छ र म ज्योतिषलाई साइत हेराएर बुढानीलकण्ठबाट बालुवाटार आउँछु भन्ने लागेको होला,’ उनले भने, ‘त्यो कुनै सम्भावना देखिँदैन। अर्काे नेता (दाहाल) लाई लागेको छ छिमेकीले सहयोग गर्दियो भने म सत्तारोहणमा लागिहाल्छु। त्यो पनि त्यति सम्भावना देखिएको छैन।’

उनले विवेकशील साझा पार्टी सत्तामा पुगेपछि कानुनी प्रक्रिया पुरा गरेर ओली, देउवा र दाहाललाई जेल हाल्ने चेतावनी दिए। ‘आज होला भोली होला, या पर्सी होला, विवेकशील साझा पार्टी यो देशको नेतृत्वमा पुग्छ। यो देशको नेतृत्वमा पुग्छ पुग्छ,’ उनले भने, ‘यो देशको नेतृत्वमा पुगेपछि बालुवाटारबाट बालकोट जानुभएको नेतालाई हामी सबभन्दा पहिले अख्तियारमा उपचार गर्छाैँ। त्यसपछि आराम गर्नको लागि नख्खु जेलको चौरमा पुर्याउँछौँ। जिन्दगीभर उहाँले त्यहाँ आराम गरेर बस्नुपर्नेछ। किनभने उहाँलाई राष्ट्रघाती रोग लागेको छ त्यो रोगको उपचार गराउनुछ।’

उनले देउवालाई इंकित गर्दै भने, ‘पहिले हामी सत्तामा पुगौँ त्यसपछि सबभन्दा पहिले अख्तियारले तपाइँको (देउवा) राष्ट्रघाती चरित्रको उपचार गर्छ। त्यसपछि तपाइँ पनि नख्खुमा चौरमा घाम ताप्न जानुपर्ने स्थिति आउँछ।’

मिश्रले नेकपा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालमाथि हत्या हिंसाको नेतृत्व गरेको भन्दै आक्रोश पोखे। ‘त्यस्तै गरी अर्काे नेता (पुष्पकमल दाहाल) जसको नेतृत्वमा यो देशमा धेरै हिंसा भएको छ, हत्या भएको छ उहाँलाई पनि सम्भवतबाट खुमलटारबाट नख्खुमै जानुपर्ने अवस्था सिर्जना हुन्छ,’ मिश्रले भने, ‘खुमलटारबाट, बुढानीलकण्ठबाट र बालकोटबाट हामी सिधै नख्खुमा लगेर हाल्छौँ भनेका छैनौँ। हामी कानुनी प्रक्रिया पुरा गर्छाैँ। त्यो कानुनको सीमा के हुँदो रहेछ भनेर उहाँहरुले बुझ्नुहुनेछ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्