महान्यायाधिवक्ता अग्‍नि खरेलको राजीनामा अस्वीकृत

Agni_Kharel
  • 588
    Shares
लोकपाटी न्यूज

काठमाडौं। महान्यायाधिवक्ता अग्‍नि खरेलको राजीनामा अस्वीकृत भएको छ। खरेलले महान्यायाधिवक्ता पदबाट आइतबार राजीनामा दिएका थिए। तर उनको राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकृत गरेको स्रोतले बतायो।

खरेलले आइतबार बेलुका दिएको राजीनामा पत्रमा आफू निर्वाचन लड्न राजीनामा दिनुपरेको उल्लेख गरेको बताइएको छ। स्रोतका अनुसार महान्यायाधिवक्ता खरेलले प्रधानमन्त्री ओलीसँग आफू झापाबाट चुनाव लड्ने चाहेको भनेका छन्। चुनाव लड्ने भनेपछि ओली खरेलमाथि थप आक्रोशित भएका थिए। तर उनको राजीनामा भने ओलीले स्वीकृत गर्न नमानेको स्रोतको भनाई छ।

‘हिजो बेलुका नै उहाँले राजीनामा दिनुभएको हो। राजीनामा पत्रमा निर्वाचन लड्न राजीनामा दिनुपरेको उल्लेख गर्नुभएको छ। तर प्रधानमन्त्रीले राजीनामा स्वीकृत गर्न मान्नुभएन,’ स्रोतले भन्यो, ‘यहाँले झापाबाट चुनाव लड्छु भन्नु भयो। त्यसपछि प्रधानमन्त्री ओली थप आक्रोशित बन्नु भएको थियो।’

स्रोतका अनुसार प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री ओली र महान्यायाधिवक्ता खरेलबीच सम्बन्ध बिग्रिँदै गएको छ। ओलीले प्रतिनिधिसभा विघटनको मुद्दाको बहसका क्रममा सरकारको बचाऊ गर्न नसकेको भन्दै खरेलमाथि असन्तुष्टि व्यक्त गर्दै आएका थिए। प्रधानमन्त्री ओलीले खरेललाई पटक-पटक बोलाएर असन्तुष्टि व्यक्त गरेका थिए। यही कारण पनि खरेल राजीनामा दिने मनसाय बनाएको स्रोतको भनाई छ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा आफ्नो पक्षको बचाउ व्यवस्थित ढङ्गले गर्न नसकेको भन्दै खरेलसँग धेरै असन्तुष्टि व्यक्त गर्नुभएको थियो,’ स्रोतले भन्यो। संवैधानिक इजलासमा खरेल सहित ११ जना सरकारी वकिलले प्रतिनिधिसभा विघटनको पक्षमा बहस गरेका थिए।

यद्यपि महान्यायाधिवक्ता खरेलले भने आफूले राजीनामा नदिएको बताएका छन्। उनले आफूले राजीनामा दिनुपर्ने कुनै कारण पनि नभएको बताएका छन्। ‘मैले राजीनामा गरेको पनि छैन,’ उनले भने, ‘राजीनामा गर्नुपर्ने कुनै परिस्थिति पनि छैन, यो कसैले कुनै स्थानमा बसेर चलाएको हल्ला हो।’ उनले आफ्नो र सरकारको बदनाम गर्नका लागि दुष्प्रचार गरिएको जिकिर गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्