संसद पुनर्स्थापनाको फैसला आए हामीसँग स्वीकार्नुको विकल्प छैन : पोखरेल

Ishwor_Pokhrel
  • 1.7K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा विघटन सम्बन्धमा सर्वोच्च अदालतको फैसला स्वीकार्य हुने बताएका छन्। विराटनगरको जनसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूअनुकूल फैसला नआए आन्दोलन गर्ने चेतावनी दिएको तीन दिनपछि उपप्रधानमन्त्री पोखरेलले यस्तो बताएका हुन्।

चितवनमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पोखरेलले भने, ‘हामी शक्ति पृथकीरणमा विश्वास गर्छौं। लोकतन्त्रमा विश्वास गर्ने सबैले न्यायपालिकाका निर्णयलाई शिरोधार्य गनुपर्छ। हामी अदालतबाट हुने फैसाललाई सम्मान गर्छौं।’ प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले गरेको सिफारिसलाई प्रतिगमन र अलोकतान्त्रिक भन्न नमिल्ने उनको भनाइ थियो।

ओली पक्षले यसअघि सर्वोच्च अदालतको फैसला मात्रै नभई निर्वाचन आयोगको निर्णय पनि आफ्नो पक्षमा हुनुपर्ने दाबी प्रस्तुत गर्दै आएको थियो। तर पोखरेलले निर्वाचन आयोगबाट आउने जुनसुकै निर्णय आफूहरुलाई मान्य हुने बताएका हुन। पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको अकर्मण्यताका कारण नेकपा फुटेको आरोप लगाए।

यसअघि सोमबार प्रधानमन्त्री ओलीले कञ्चनपुर पुगेर पहिलो पटक संसद विघटनको मामिलामा आफ्नो अभिव्यक्ति बदलेका थिए। उनले ‘न्यायालयबाट कहिलेकाहीँ अनुपयुक्त निर्णय आउँछ। तर जे भएपनि हाम्रो राजनीति सिद्धिदैन’ भन्ने अभिव्यक्ति दिएका थिए। यसअघि ओलीले संसद विघटन आफ्नो राजनीतिक बाध्यता भएको स्पष्टीकरण दिँदै आएका थिए।

आफ्नै पार्टीका नेताहरुले हातखुट्टा बाँध्न थालेपछि बाध्य भएर संसद विघटन गरेको र त्यो उचित निर्णय भएको दाबी गर्दै आएका थिए। संसद विघटनविरुद्धका याचिकाहरुमाथिको बहस साँघुरिँदै र सर्वोच्च अदालतको फैसला नजिकिँदै गएका बेला ओली पक्षले आफ्ना अभिव्यक्तिहरु बदल्न थालेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्