नेपाली कांग्रेस अब के गर्छ ?

Nepali-congress-meeting
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वागत गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको निर्णयलाई स्वागतयोग्य कदम भन्दै अदालतले लिएको संसद् पुनःस्थापनाको निर्णयलाई कांग्रेसले स्वागत गर्ने बताए।

‘सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ, कांग्रेस प्रतिनिधिसभा पुनःस्थापना गर्ने अदालतको फैसलाको स्वागत गर्छ,’ देउवाले संसद् पुनःस्थापनाको फैसलापछि विज्ञप्ति जारी गर्दै भनेका छन् ।

देउवाले विज्ञप्तिमा अदालतमा विचाराधीन रहेको मुद्दा भएका कारण यसअघि पार्टीले अदालतलाई दबाबमा राख्ने कुनै कार्यक्रम नगरेको समेत प्रस्ट पारेका छन्। नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत संसद् पुनःस्थापना गर्ने अदालतको निर्णयलाई स्वागत गरेका छन्। वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने नभए अविश्वासको प्रस्ताव अघि बढाएर हटाइने बताए।

‘संसद् पुनःस्थापनाको निर्णयको स्वागत गर्छु अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ होइन भने अविश्वासको प्रस्तावबाट हटाउँछौं,’ पौडेलले भने।

यसैगरी नेता कृष्णप्रसाद सिटौलाले सर्वोच्चको निर्णयले अदालतले निष्पक्ष, स्वतन्त्र र प्रभावकारी रूपमा पनि निर्णय गर्न सक्छ भन्ने प्रमाणित गरेको बताए।

‘सर्वोच्च अदालतको निर्णयले अदालतले निष्पक्ष, स्वतन्त्र र प्रभावकारी रूपमा पनि निर्णय गर्न सक्छ भन्ने प्रमाणित गरेको छ, प्रधानन्यायाधीलगायत संवैधानिक इजलासमा बस्ने सबैलाई बधाई,’ सिटौलाले भने ।

उनले संसद् पुनस्र्थापनाको निर्णयबाट न्यायपालिकाले संविधान र लोकतन्त्रको रक्षा गर्नसक्छ र निरंकुशतावादी र अधिनायकवादीलाई तह लाउन सक्छ भन्ने पनि पुष्टि भएको बताए।

कांग्रेसले संसद् विघटनको निर्णय लगत्तै आधिकारिक रूपमा पार्टी बैठकबाटै संसद् विघटनको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादी कदम भन्दै विरोध गरेको थियो। राजधानी दैनिकमा खबर छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्