देउवालाई भेट्न बुढानीलकण्ठ जाँदै प्रचण्ड-नेपाल

Prachanda_Nepal_Nekapa
  • 22
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल बुढानीलकण्ठ जाने भएका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गर्ने फैसला सुनाएपछि प्रचण्ड-नेपाल सभापति देउवा भेट्न जान लागेका हुन्।

उनीहरुबीच प्रतिनिधिसभा पुनर्स्थापनापछि विकसित राजनीतिक घटनाक्रम, संसद् बैठक, प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव लगायतका विषयमा छलफल हुनेछ। कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले सभापति देउवालाई भेट्न प्रचण्ड र नेपाल निवासमै आउन लागेको जानकारी दिए। ‘उहाँहरुले सभापति देउवाज्यूसँग भेट्ने समय लिनुभएको छ,’ उनले भने।

संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि मंगलबार कांग्रेसका सभापति शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई साटासाट गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि कांग्रेस र नेकपा प्रचण्ड नेपाल समूह विरोधमा सडक आन्दोलनमा उत्रिएका थिए। नेकपाको माधव-प्रचण्ड पक्षले बुधबार संसदीय दलको बैठक बोलाएको छ।