ओलीलाई झाको सुझाव : इज्जत जोगाउन राजीनामा दिनोस्

लोकपाटी न्यूज
0 Shares

जनकपुरधाम। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूहका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामचन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविलम्ब राजीनामा दिन सुझाव दिएका छन्। नेकपाको प्रचण्ड-नेपाल समूहले जनकपुरधाममा निकालेको विजय जुलुसको कोणसभालाई सम्बोधन गर्दै झाले प्रधानमन्त्री ओलीले ईज्जत जोगाउनका लागि पनि राजीनामा दिनुपर्ने सुझाव दिएका हुन्।

उनले नेपाली जनताले प्रतिगामी शक्तिलाई एक पटक फेरि परास्त गरेर देखाएको र प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने बताए। नेता झाले अब नेपाली राजनीतिमा ओलीको कुनै काम नरहेकोले राजनीतिबाट सन्यास लिनु पर्ने समेत सुझाव दिए। नेता झाले भने, ‘पार्टीले ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ। ईज्जत जोगाउन राजीनामा दिनुस्, पार्टीले समेत कारबाही गरिसकेकोले बालकोट गएर भूजा फाँक्नुस्।’

उनले अघि भने, ‘ओलीजी अब नेपाली राजनीतिमा तपाई जस्ताको कुनै काम छैन, नभए तपाई जस्ताले पार्टी नै सखाप पार्नेछन्।’ उनले प्रतिगामीको पक्षमा लागेकाहरुलाई पार्टीमा स्थान समेत नदिन आग्रह गरे। नेता झाले पार्टीमा चोर डाँका तथा फटाहाहरुको कुनै काम नरहेकोले त्यस्ताहरुलाई पार्टीमा स्थान दिन नहुने बताए।

नेता झाले नवनियुक्त प्रदेश प्रमुख डा राजेश झा सहित तीनजना प्रति आक्रोश व्यक्त गरेका छन्। उनले आन्दोलनको क्रममा नेपाल बन्दको दिन धनुषाका डीएसपी मकेन्द्र मिश्र र ईन्सपेक्टर अशोक झाले कहिँबाट परिचालित रुपले आफूहरुमाथि प्रहार गरेको भन्दै उनीहरुलाई कारबाही गर्न माग गरेका छन्।

‘नेपाल बन्दकादिन आन्दोलनमा धनुषाका अधिकांश प्रहरीको समर्थन देखिएपनि मकेन्द्र मिश्र र अशोक झाको नांगो नाच देखियो, कहिँबाट परिचालित रुपमा हामीमाथि प्रहार गरी ज्यान मार्ने सम्मको प्रयास गरे’, नेता झाले भने, ‘डीएसपी मिश्र र इन्सपेक्टर झालाई यथासिघ्र कारबाही गर्न जिल्ला प्रशासन र जिल्ला प्रहरीसँग माग गर्दछौ। सो नगरिए यहाँको आमजनताले उनलाई आफ्नो अदालतबाट कारबाही गर्नेछ, त्यसको परिणाम नमिठो हुनेछ।’

नेता झाले नव नियुक्त प्रदेश प्रमुख पनि गलत समूहको प्रतिनिधि रहेको भन्दै आक्रोश व्यक्त गरेका छन्। प्रचण्ड-नेपाल समूहको जनकपुरधामस्थित पार्टी कार्यालयबाट निस्केको विजय जुलुस नाराबाजी गर्दै जनक चोकमा पुगी कोणसभामा परिणत भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्