फैसला सामान्य हो, लड्डु खाँदैमा केही हुँदैन : ओली

KP_Oli_PM
  • 47
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला सामान्य रहेको बताएका छन्। काठमाडौंमा बुधबार नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतको फैसला सामान्य भएको भन्दै आफूलाई कुनै असर नगर्ने उल्लेख गरेका हुन्। ‘यो सामान्य कुरा हो,’ उनले भने, ‘अहिलेको सरकार छ। सरकार रहन्छ। विकासको कुरा अगाडि बढिरहेको छ। अगाडि बढ्छ।’

प्रधानमन्त्रीले अदालतको फैसलापछि केही नेताहरुले लड्डु खाएको प्रसंग उल्लेख गर्दै त्यस्तो खुसियाली साट्नुपर्ने कारण नभएको जिकिर गरे। प्रचण्ड र नेपाललाई ‘भाइहरु’को संज्ञा दिँदै ओलीले लड्डु खाँदैमा उनीहरुले केही नपाउने बताए । उनले भोलि पर्सादेखि प्रचण्ड-नेपालले आफ्नो राजीनामा माग्न सक्ने पनि बताए ।

‘मेरा केही भाइहरूले लड्डु खुवाइखुवाइ गर्या रैछन्। लड्डु खाएछन् जित्यौँ हामीले भनेर। के जित्यौ भन्ने चाहिँ थाहा छैन’ व्यंग्य मिश्रित कटाक्ष गर्दै ओलीले भने, ‘उनीहरुलाई लड्डु खाएर के पाउँछौँ भन्ने थाहा छैन। के पाउँछन् त्यो चाहिँ मैले हेर्नु छ। मेरो विचारमा भोलि पर्सीदेखि फेरि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ।’

उनले सर्वोच्चको फैसलापछि पनि आफ्नो देश विकासको संकल्पमा केही फरक नभएको र त्यस्तो हुन आवश्यक समेत नरहेको बताए। पदमा रहेसम्म आफूले इमान्दार भएर देश र जनताको पक्षमा निरन्तर उही रफ्तारमा काम गर्ने ओलीको भनाइ छ।

‘मान्छे कतिबेला मर्न सक्छ, ब्रेन ह्यामरेज भएर मर्न सक्छ, गाडी ठोक्किएर मर्न सक्छ। जिन्दगी कुनै ठेगान छैन। अहिलेसम्म बाँचिन्छ त्यतिबेलासम्म राम्रो काम गर्ने हो’, ओलीले भने, ‘मरेपछि न मान्छे बेइमान हुन सक्छ न इमान्दार। मरेपछि केही अर्थ छैन। बाँचुन्जेल इमान्दार हुने हो।’

ओलीले कतिपय मान्छे सरकारले ल्याएको विकासको लहर देखेर आत्तिएको पनि बताए। कृषि क्षेत्रसहितका क्षेत्रमा सरकारले राम्रो काम गरिरहेको भन्दै नेपाल विकासको दृष्टिले हरेक क्षेत्रमा नयाँ युगमा प्रवेश गरेको ओलीको दावी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्