प्रचण्ड-माधव समूहले भन्याे, आत्मालोचनासहित रुपान्तरण नभएसम्म ओली समूहसँग एकता हुदैन

Madhab_prachanda_nekapa
  • 50
    Shares
लोकपाटी न्यूज

काठमाडाैँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले सबै नेताहरुलाई पार्टीमा फर्केर आ-आफ्नो जिम्मेवारी लिन आह्वान गरेको छ। बुधबार बसेको बैठकले नयाँ सन्दर्भमा भ्रममा परेर वा अन्य कुनै पनि कारणले फुटवादी गुटमा लागेका सबै नेता-कार्यकर्तालाई आ-आफ्नो जिम्मेवारीमा फर्कन आह्वान गर्ने निर्णय गरेको हो।बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘नयाँ सन्दर्भमा पार्टीका जति कमरेडहरु भ्रममा परेर वा अन्य कारणले फुटवादी गुटमा र प्रतिगामी गुटमा लाग्नुभएको छ ती सबै साथीहरुलाई मूल पार्टीमा नै फर्केर आ-आफ्नो जिम्मेवारी लिन पनि आह्वान गर्ने निर्णय गरेका छौँ ।’

बैठकले आत्मालोचनासहित रुपान्तरण नभएसम्म ओली समूहसँग एकता नहुने निष्कर्षसमेत निकालेको प्रवक्ता श्रेष्ठले बताए। ‘पार्टी एकताको पक्षमा हामी सँधै छौँ। हिजो पनि थियौँ। पार्टी एकता पनि जोगाउने, संविधान र लोकतन्त्रको पक्षमा र जनमुखी विकासको पक्षमा पनि जान पर्यो भनेर बहस गर्दा ओलीजीले संविधान र लोकतन्त्रको पनि हत्या गर्न उद्यत हुनुभयो र पार्टीलाई पनि फुटाउने, चोइट्याउने, गुटवादी प्रयत्न अगाडि बढाउनुभयो। हामी त्यसको विरोध गरेका हौं र अहिले पनि हामी पार्टी एकताको पक्षमा छौँ,’ उनले भने, ‘तर पार्टी एकतालाई प्रहार गर्ने, चोइट्याउने, गुट र फुटमा रमाउने र त्यसक्रममा संविधान र लोकतन्त्रमाथि पनि आक्रमण गर्ने प्रवृत्तिले आफूलाई आत्मालोचक ढंगले र नयाँ रुपमा प्रस्तुत नगरेसम्म त्यो एजेन्डा खाली कुराका कुरा हुन सक्छ।’

प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने र त्यसो नभए संविधानअनुसार अगाडि बढ्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताए । उनले भने, ‘हाम्रो पार्टीले केपी ओलीले तत्कालै नैतिकताको आधारमा राजीनामा दिनुपथ्र्यो भनेर भनिसकेको छ । अहिले सम्म उहाँले दिनुभएको छैन । त्यसो नभएको अवस्थामा पनि अदालतकै फैसला अनुसार छिट्टै प्रतिनिधिसभाको बैठक बस्दै छ र प्रतिनिधिसभाको बैठकबाट संविधानअनुसार नै अरु प्रक्रिया अगाडि बढ्ने छ।’

बैठकले सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको ठहरसमेत गरेको छ। अदालतको निर्णयले प्रतिनिधिसभा पुनर्स्थापना मात्रै नगरी संविधान र लोकतन्त्रको रक्षा समेत गरेको ठहर बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताए। ‘हिजो सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमलाई खारेज गरेर, बदर गरेर प्रतिनिधिसभालाई पुनर्स्थापित गर्ने जो फैसला सुनाएको छ त्यसलाई पार्टीले ऐतिहासिक फैसला भनेको छ। यसले प्रतिनिधिसभा पुनर्स्थापना मात्रै गरेको छैन यसले संविधान र लोकतन्त्रको रक्षा पनि गरेको छ,’ उनले भने, ‘यसले देशलाई प्रतिगामी षड्यन्त्रको चक्रब्युहमा राजनीतिक संकटको अँध्यारो सुरुङतिर लैजाने खतरा थियो त्यो खतराबाट पनि देशलाई बचाउन योगदान पुर्याएको छ। त्यसैले सर्वोच्च अदालतको यो ऐतिहासिक फैसलालाई पार्टी स्थायी कमिटीले उच्च मूल्याङ्कन गरेको छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्