अब आइपीओ रिजल्ट अनलाइन मिडियामार्फत हेर्न नपाउने

  • 57
    Shares
लोकपाटी न्यूज

काठमाडौं। अब लगानीकर्ताले अनलाइन मिडियाबाट आइपीओ परे नपरेको रिजल्ट हेर्न नपाउने भएका छन्। सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले हितग्राही खाता (डिम्याट अकाउन्ट) व्यक्तिगत विवरण अन्तर्गत पर्ने भएकाले अबदेखि आइपीओ रिजल्ट अनलाइन मिडियामार्फत सार्वजनिक गर्न नदिइने बताएका छन्।

यो व्यवस्थासँगै लगानीकर्ताले अब आइपीओ रिजल्ट आइपीओ निष्कासन गर्ने सम्बद्ध कम्पनीको वेवसाइट, सीडीएसको मेरो सेयर एप र बिक्री प्रबन्धकको वेबसाइटबाट मात्र हेर्न सक्नेछन्। यो व्यवस्था शुक्रबार (फागुन १४ गते) बाँडफाँड हुन लागेको महिला लघुवित्तको आइपीओबाटै लागू हुने पनि प्रवक्ता न्यौपानेले बताए। धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली पनि यस्तो व्यवस्था भएको सीडीएसको भनाई छ।

‘लगानीकर्ताको गुनासो तथा धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावलीमा यस्तो व्यवस्था रहेको र त्यसैलाई कार्यान्वयन गरिएको हो,’ सीडीएससीका सीइओ पूर्णप्रसाद आचार्यले जानकारी दिए। उनका अनुसार अब आइपीओको नतिजा ३ ठाउँबाट मात्रै हेर्न सकिन्छ। पहिलो सम्बन्धित कम्पनीको वेवसाइट, दोस्रो बिक्री प्रबन्धक र तेस्रो मेरो सेयरको वेवसाइटबाट मात्रै नतिजा हेर्न पाइनेछ।

‘लामो समयदेखि गुनासो आएको हो, अहिले आएर कार्यान्वयन गर्न लागिएको हो। लगानीकर्ताको गोपनीयताको सुरक्षाका लागि बिक्री प्रबन्धकलाई पनि पत्राचार गरिसकेका छौं। र, यो भोलि बाँडफाँट हुने भनिएको महिला लघुवित्तको आइपीओको नतिजाबाटै लागू हुनेछ,’ उनले भने। उनका अनुसार हाल रियल टाइममा ६० देखि ७० हजार जनाले एकैसाथ एक्सेस गर्न सक्छन्। त्यसबाहेक अब गुगल क्लाउडको प्रयोग गरेर भए पनि सहज बनाउनेतर्फ काम भइरहेको उनले जानकारी दिए।