८० करोड बराबरको इक्विटी फण्ड निष्काशन गर्दै कुमारी क्यापिटल

  • 13
    Shares
लोकपाटी न्यूज

काठमाडौं। कुमारी क्यापिटलले फागुन १४ गतेदेखि कुमारी इक्विटी फण्ड सञ्चालनका लागि ८ करोड इकाई विक्री खुला गर्ने भएको छ। क्यापिटलले प्रतिइकाई १० अंकित मूल्यको ८० करोड बराबरको इकाई विक्री गर्न लागेको हो।

कुल इकाईमध्ये कोष प्रव्द्धकको रुपमा रहेको कुमारी बैंकलाई १५ प्रतिशत दरको १ करोड २० लाख इकाई सुरक्षित राखी बाँकी ६ करोड ८० लाख कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो। यो इकाई छिटोमा फागुन १८ र ढिलोमा फागुन २८ गतेसम्म सार्वजनिक निष्कासनमा रहनेछ।

कम्पनीले सञ्चालन गर्न लागेको यो सामूहिक लगानीकोष योजना बन्दमुखी योजना हो। इकाई विक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ। इकाई खरीदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ।

साथै, मेरो शेयर सफ्टवेयर र मेरो शेयर मोवाइल एपबाट पनि आवेदन दिन सकिनेछ। आवेदन दिँदा न्यूनतम १०० कित्तादेखि अधिकतम ८० लाख कित्तासम्म माग गर्न सकिनेछ।

१० वर्षे अवधिको यो इकाई बाँडफाँट भएको मितिले दश वर्षपछि योजनाको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसावले प्रचलित कानुन बमोजिम बाँडफाँट गरिनेछ। योजनाको सम्पूर्ण इकाई धितोपत्र दोस्रो बजारमा सूचीकृत गरी कारोबार गर्न सकिने व्यवस्था गरिने समेत कोष व्यवस्थापक कुमारी क्यापिटलको भनाइ छ।