‘नेकपा’ नामको विवाद मुद्दामा सर्वोच्चले फागुन २० गते फैसला सुनाउने

nekapa
  • 850
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले फागुन २० गते निर्णय सुनाउने भएको छ। आफ्नो दल नेपाल कम्युनिस्ट पार्टीसँग नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्च अदालतमा हालेको मुद्दामा सुनुवाइ आज सकिएको छ।

कट्टेलले दायर गरेको मुद्दामा न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले बिहीबार सुनुवाइ सकेको थियो। सत्तारुद्ध पार्टीभित्र विवाद बढेर औपचारिक विभाजनको अवस्थामा पुगेका बेला सर्वोच्चले उक्त नामलाई वैधानिकता दिने कि नदिने भन्ने निर्णय सुनाउन लागेको हो।

यदि आयोगले (ने क पा) लेख्ने गरी आयोगले गरेको निर्णय बदर गरेमा विभाजनको डिलमा पुगेको नेकपालाई थप सजिलो हुनेछ। सुनुवाइ सकिएपछि फागुन २० गते निर्णय सुनाउने तय भएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए।

अध्यक्ष कट्टेलले निर्वाचन आयोगलाई समेत विपक्षी बनाएका थिए। २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो। त्यसपछि कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए।

उक्त उजुरीमा सुनुवाइ गर्दै निर्वाचन आयोगले २०७५ कात्तिक ९ गते केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पक्षमा निर्णय गरेको थियो। आयोगको उक्त निर्णयविरुद्ध कट्टेलले २०७५ साल मंसिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। लामो समय उक्त रिटमाथि सुनुवाइ भएको थिएन। उक्त मुद्दामाथि पेसी चढ्दै र सर्दै आएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्